बारा ४ मा उम्मेद्वारको घरदैलो अभियान तीब्र 

बारा ४ मा उम्मेद्वारको घरदैलो अभियान तीब्र 

वीरगन्ज, २० कार्तिक । बारा क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीब्र बनाएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान), प्रदेशसभा (१) का उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ (अनिल) र प्रदेशसभा (२) का उम्मेदवार जितेन्द्र सोनलले घरदैलो र मतदाता भेटघाटलाई तीब्र बनाउनुभएको हो ।

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा एर्कीकृत समाजवादीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किसानको दौडधुप निकै बढेको छ । क्षेत्र नम्बर ४ को दक्षिणभाग बिश्रामपुरदेखि उत्तरी भाग अम्लेखगञ्जसम्म उहाँलाई भ्याई नभ्याई छ । घरदैलो र मतदाता भेटघाट मात्रै होईन पार्टी प्रवेश कार्यक्रम पनि निरन्तर हुदै आएको छ ।

किसानको उम्मेदवारीले नेकपा एमाले बारालाई निकै ठैलो धक्का लागेको छ । यसपटकको निर्वाचनमा बारामा निर्णायक शक्ति बनेको नेपाली कांग्रेसले क्षेत्र नम्बर १ बाहेकका क्षेत्रमा उम्मेदवार बनाएको छैन । गठबन्धनलाई जिताउनका लागि कांग्रेसले आफ्नो नेता कार्यकर्ताहरुलाई पनि व्यापक परिचालन गरेको छ ।