पर्सा क्षेत्र नम्बर १ को (२) मा कुर्मीले बाजी मार्लानका कि लालबाबुलाई लौरोले लखेट्ला ?
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (२) मा मुख्यमन्त्री लालबाबु राउतले बिरासत जोगाउन सक्ला कि नसक्ला भन्ने धेरै चासो छ । मधेस प्रदेशमा पूरा कार्यकाल मुख्यमन्त्री बनेर पनि विकास गर्न नसकेको र वीरगन्जलाई मुख्यमन्त्री पदसँग सम्झौता गरेको भन्दै सर्वत्र आलोचित हुनुभएका मुख्यमन्त्री लालबाबु राउतको विरुद्ध भनेर नै युवा नेता ओमप्रकाश सर्राफले उम्मेदवारी दिनुभएको छ ।
राजनितिक संगै सामाजिक कार्यमा छुट्टै पहिचान बनाउनुभएका पर्सा क्षेत्र नम्बर १ को (२) को प्रदेश सभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले आफनो मुख्य प्रतिस्पर्धा मुख्यमन्त्रीसँगै रहेको दावी गर्नुभएको छ । ओमप्रकाशको उम्मेदवारीले लालबाबुलाई कति धक्का दिन सक्ला ? पाँचदलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेस नेता रामनारायण कुर्मीले बाजी मार्ला ? निर्वाचन रोचक बन्दै गएको छ। यद्यपि नेपाली कांग्रेसका पूराना नेता रामनारायण कुर्मीको पनि जनमत कम छैन ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मधेस सरकार भ्रष्टाचारको दलदलमा फसेको भन्दै व्यापक आलोचना भइरहेको समयमा राजनीतिक समिकरणमा पनि एमालेसँग तालमेल गरेकोले मधेसी जनताको मत घट्न सक्ने अनुमान गरिएको छ । २०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचन लड्नुभएका लालबाबुले ९८०४ मत ल्याएर विजयी हुनुभएको थियो ।
उहाँको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय सर्राफले ६८२९ मत ल्याउनु भएको थियो । त्यस्तै नेकपा एमालेका शम्भु प्रसाद गुप्ताले २८७६ मत ल्याउनु भएको थियो । लालबाबु राउत हेभीवेटका बहालवाला मुख्यमन्त्री राउतसँग कांग्रेस पर्साका उपसभापति समेत रहनुभएका हेभीवेट नेता रामनारायण कुर्मी प्रतिस्पर्धामा हुनुहुन्छ भने २०७४ सालको निर्वाचनमा चौथो नम्बरमा रहनुभएका युवा नेता ओमप्रकाश सर्राफले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
मुख्यमन्त्रीको पूरा कार्यकालमा लालबाबु राउतले गरेको गतिविधि र निर्वाचनको संघारमा नै मधेस विरोधी पार्टी भनिएको एमालेसँगको तालमेलले लालबाबुलाई असहज बनाएको छ । गएको निर्वाचनमा दोश्रो नम्बरमा रहेको कांग्रेसको मत र पाँचदलीय गठबन्धनका पनि उम्मेदवार रहनुभएका कुर्मी बलियो उम्मेदवारको रुपमा देखिनु भएको छ ।
मुख्यमन्त्रीका कटु आलोचकका रुपमा रहनुभएका युवा नेता ओमप्रकाश सर्राफलाई पनि मतदाताको सदभाव उत्तिकै देखिन्छ । तर, आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार रामनारायण कुर्मीले बाजी मार्ला कि ओमप्रकाशको लौरोले लालबाबुलाई लखेट्ला त्यो भने मंसिर ४ गतेको जनमतले नै तय गर्नेछ ।