कांग्रेस पर्सामा युवाको बर्चस्व, पदाधिकारीमा महिला उम्मेदवार शुन्य
वीरगन्ज, १८ फागुन । नेपाली काङ्ग्रेस पर्साको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुदैछ । भोली हुने निर्वाचनमा जिल्ला सभापतिका लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
काँग्रेस जिल्ला सभापतिका लागि संस्थापन देउवापक्षबाट जिल्ला विकास समितिका पूर्वसभापति जनार्दन सिंह क्षेत्री र संस्थापन इतरबाट काँग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेल चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।
क्षेत्रीलाइ संस्थापन पक्षका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया, पूर्व सभापति तथा मन्त्री सुरेन्द्र चौधरीको साथ रहेको छ । भने पटेललाइ संस्थापन इतर पक्षका काँग्रेस निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य तथा पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको छ ।
७ जना पदाधिकारी सहित ६८ सदस्यीय जिल्ला कार्य समितिको पदाधिकारीमा युवाहरुको बर्चस्व रहेपनि महिलाहरुको सहभागिता भने शुन्य रहेको छ । क्षेत्री र पटेल दुवै पक्षले छुटटा छुटटै प्यानल बनाएर मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलमको उम्मेदवारी परेको छ ।
सहसचिवमा क्षेत्रीको प्यानलबाट नविन सिंह र मदन प्रसाद यादवको उम्मेदवारी परेको छ । यसैगरि पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरीले उम्मेदवारी दिनु भएको छ । पटेलको प्यानलबाट सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादवको उम्मेदवारी परेको छ ।
सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिनु भएको छ । जिल्ला अधिवेशनको चुनावमा १ हजार ८ सय मतदाता रहेका छन् । यसपटक वडादेखि जिल्लसम्म युवाहरुको बर्चस्व देखिएपनि पर्सा जिल्लाको पदाधिकारीमा भने एकजना महिलाको पनि उम्मेदवारी परेको छैन ।
कांग्रेस पर्साको नेतृत्वका लागि दुईवटा प्यानल बनाएर निर्वाचनमा गएका दुवैपक्षले महिलालाई पदाधिकारीमा स्थान दिएका छैनन् । महिलालाई उम्मेदवार नबनाएकोमा कांग्रेस निकट महिलाहरुले नेतृत्वको आलोचना गरेका छन् । डाक्टर सुष्मा द्विवेदीले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसमा नै महिलाहरुलाई पदाधिकारीमा स्थान नदिनु दुर्भाग्य रहेको बताउनुभयो ।
उहाँले उम्मेदवारी मनोनयत दर्ता भईसकेपनि अझै सच्याउने समय रहेकोले दुवैपक्षलाई सच्याएर महिला उम्मेदवारलाई पनि अवसर दिन आग्रह गर्नुभएको छ । उहाँले दुवै समूहका उम्मेदवारले पुर्नविचार गर्ने अपेक्षा पनि गर्नुभएको छ । दुवैपक्षका उम्मेदवारहरुले भने महिलालाई पदाधिकारीमा ल्याउन त्रुटी भएको स्वीकार गरेका छन् ।
संस्थापन पक्षका सभापतिका उम्मेदवार जनार्दन सिंह क्षेत्रीले पार्टीलाई योगदान दिएका थुप्रै योग्य महिलाहरु रहेपनि पदाधिकारीमा नल्याउनु गल्ती भएको स्वीकार गर्नुभयो । उहाँले कांग्रेस सभापति शेर बहादुर देउवाकै पालामा महिला सशक्तिकरणका लागि आयोग गठन गरेको दावी गर्दै अहिलेपनि धेरै स्थानहरुमा महिलाहरुको नेतृत्व र सहभागिता रहेको जनाउदै कांग्रेस पर्साको पदाधिकारीको उम्मेदवारीमा भने केही कारणवस महिलालाई उम्मेदवार बनाउन नसकिएको बताउनुभयो ।
त्यस्तै संस्थापन इतरका सभापतिका उम्मेदवार श्याम पटेलले पनि पदाधिकारीमा महिला उम्मेदवार ल्याउनमा त्रुटी भएको बताउनुभयो । उम्मेदवार मनोनयन दर्ता हतार हतारमा गर्नुपर्दा यस्तो त्रुटी भएको स्वीकार्दै अब आगामी दिनमा यसलाई सच्याउदै जाने बताउनुभयो ।
लोकतन्त्रप्रति आस्था र विश्वास राख्ने पार्टी कांग्रेसले सबैको समावेशी सहभागिताको वकालत गर्दै आईरहेको बताउदै उहाँले हतार हतारमा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्दा महिला छुटेको बताउनुभयो । पटेलपक्षकै सहसचिवका उम्मेदवार दिलिपराज कार्कीले भने महिलाहरुलाई उम्मेदवार दिन आह्वान गरिएपनि कसैको उम्मेदवारी नपरेको बताउनुभयो ।
कांग्रेसको विधान अनुसार कोषाध्यक्षमा कार्यसमितिले मनोनयन गर्ने व्यावस्था रहेकोले निर्वाचित कार्यसमितिले महिलालाई कोषाध्यक्षमा मनोनयन गर्ने हुँदा एउटा पदाधिकारीमा महिलाको सिट सुरक्षित रहेको बताउनुभयो । उहाँले जुनसुकै प्यानल विजयी भएपनि कोषाध्यक्षमा भने महिलालाई नै मनोनयन गर्ने दावी गर्नुभयो ।