मिथिलाञ्चलमा जुडशीतल पर्व मनाईदै, प्रदेश २ भर सार्वजनिक विदा
मिथिलाञ्चलमा आज जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको अवसरमा सरकारले झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा आज सार्वजनिक विदा दिएको छ ।प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् ।
जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ ।
यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधनमाथि पानी जुराउने गरिन्छ ।
त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ ।जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ ।त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ ।
चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ ।यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेको छ । यसैबीच प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश २ को कानून तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले विज्ञप्ति जारी गरेर आज जुडशीतल पर्वको शुभकामना सहित प्रदेश २ भरी सार्वजनिक विदा दिएको जनाएको छ ।