महानगरले हटायो अव्यवस्थित तार 

महानगरले हटायो अव्यवस्थित तार 

वीरगन्ज, १२ पुष । वीरगञ्जको घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार महानगरपालिकाले काटेर हटाएको छ । नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान अनुरुप महानगरले विद्युत तथा टेलिकमको पोलमा गुजुल्ट्याएर राखिएका तार काटेर हटाएको हो ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहित महानगरको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडीसम्मको बायाँतर्फको पोलमा रहेको अव्यवस्थित तार हटाएको छ। जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत देखिएकाले व्यवस्थित गर्न महानगरले सेवाप्रदायकको सहमतिमै व्यवस्थापन गर्न थालेको हो ।

यसअघि टोलीले आदर्शनगर क्षेत्रका पोलहरुमा टांगिएका तार काटेर हटाएको थियो । महानगरका प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ । इन्टरनेट सेवा प्रदायका प्रतिनिधिहरुको उपस्थितिमा नै तार काटेर हटाईएको महानगरको सूचना प्रविधिक शाखाका बृजेश प्रधानले जानकारी दिनुभयो ।

महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार लगाउँदा तोकिएको व्यवस्था अनुसार मात्रै लगाउन  सूचना जारी गरेको छ । जथाभावी तार नलगाउन चेतावनी दिँदै महानगरले त्यसो गरेमा हटाइदिने पनि जनाएको छ ।