वीरगन्जका व्यापारी सटर छोडेर सडकमा
वीरगन्ज, १२ पुष । सधैं सटरमा बसेर व्यापार गर्ने व्यापारीहरु सोमबारदेखि सडकमा देखिन थालेका छन् । बन्द हड्ताल र आन्दोलनको सधै विरोध गर्ने गरेका उद्योगी व्यावसायीहरु अहिले आफै सडकमा कालो ब्यानर सहित सरकार विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
बिहानै पसल सटर खोलेर ग्राहक कुरेर बस्ने व्यावसायीहरु सोमबारदेखि कालो ब्यानर सहित सडकमा दिखिएका छन् । सडक किनारमा सटर लिएर व्यापार गर्नेदेखि ठूला उद्योग सञ्चालन गरेर बसेका सबै व्यावसायीहरु कालो व्यानरमा विरोध कार्यक्रम सहित सडकमा देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ र बैंकहरुले लिने चर्को ब्याजदरको विरुद्धमा वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाई मधेस प्रदेशका वस्तुगत संघहरु सहित सडकमा आन्दोलन गरिरहेका छन् । राज्यको गलत नीतिका कारणले निजीक्षेत्र अहिले सडकमा आउनु परेको उनीहरुको भनाई छ ।
सरकार र राष्ट्र बैंकले समस्याको सम्बोधन गर्न चासो नदेखाएपछि उद्योगी व्यावसायीहरु कालो ब्यानरमा सेतो अक्षरले विरोध कार्यक्रम लेखेर सडकमा आउन बाध्य भएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा घोषणा गरिएको चरणवद्ध आन्दोलनको क्रममा मंगलबार वीरगन्ज बजार भरी व्यावसायीहरुलाई कालो पट्टी वितरण गरेर विरोध जनाउन आग्रह गर्नुका साथै कालो ब्यानर सहित नगर परिक्रमा गरेर राष्ट्र बैंकको वीरगन्ज स्थित कार्यालयमा पुगेर ब्यानर झुण्ड्याएर सांकेतिक विरोध जनाएका छन् ।
बाणिज्य बैंकहरुले पहिले ब्याजदर निर्धारण गरेर कर्जा प्रवाह गर्दा जुन सम्झौता गरेका थिए । त्यसको बिपरित दोब्बर भन्दा बढी ब्याजदर लिन थालेको र ब्याज नतिर्दा ताकेता गरेर मानसिक तनाव दिन थालेपछि व्यावसायीहरुले आफ्नो व्यक्तित्व र व्यावसायिक छविमा समेत असर पार्न थालेपछि आन्दोलनको सहारा लिनु परेको बताउछन् ।
व्यापार गर्न बजारमा पैसा छैन, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ताले भने, “हामीले कयौं पटक सरकारको ध्यानाकर्षण गरायौं । तर, सरकारको न त आँखा खुल्यो न त कानले नै सुन्यो । अर्थतन्त्र निकै जटिल अवस्थामा पुगेको राजनीतिक वृत्तबाट पनि कुराहरु आएका छन् । त्यसको समाधानका लागि पहल भने कतैबाट भएन ।”
राज्यको नीतिकै कारणले सीमाक्षेत्रमा अहिले अवैध व्यापार बढेको र वैध व्यापार घटेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए । उनले भने, “राज्य नीगित रुपमै अवैध व्यापारलाई बढावा दिनेतर्फ लाग्यो । अहिले उद्योगी व्यावसायीहरुसँग पैसा छैन । सरकारी कर्मचारी र राजनीतिक दलहरुसँग पैसा छ ।
उनीहरु व्यापारीलाई वास्ता गरिरहेका छैनन् । यो निकै दुखद हो ।” वीरगन्ज उद्योग वाणिज्य संघले गरेको विरोध कार्यक्रमको वीरगन्जका होटल तथा पर्यटन व्यावसायीहरुले पनि ऐक्यवद्धता जनाएका छन् । उनीहरुले मंगलबार वीरगन्जका सबै होटलमा संघले वितरण गरेको कालो ब्यानर झुण्ड्याएर विरोध जनाएका छन् ।
तीनचार दिन अघि वीरगन्जमा आयोजना भएको नेपाल जेसिजको कार्यक्रमको ब्यानर झुण्ड्याएर स्वागत गरेका होटलहरुमा अहिले भने वीरगन्ज उद्योग वाणिज्य संघले वितरण गरेको विरोध कार्यक्रमको व्यानर देख्न पाईन्छ ।