भीसीटीएस प्रणालीलाई सरलीकृत बनाउन वीरगन्ज उद्योग वाणिज्य संघको माग
वीरगन्ज, २८ फागुन । वीरगन्ज उद्योग वाणिज्य संघले भेइकल एण्ड कन्साईन्मेन्ट ट्र्याकिङ्ग सिस्टम (भिसिटिएस) लाई सरलीकृत गर्न माग गरेको छ ।
शनिबार राजस्व अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा राजस्व चुहावट नियन्त्रण र भीसीटीएस सम्बन्धी अन्तरक्रियामा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले भीसीटीएसको बारेमा निजीक्षेत्रपनि अनभिज्ञ रहेकाले साना व्यवसायको हकमा भीसीटीएस भर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउनुपर्ने माग गर्नुभयो ।
सरकारी कार्यालयहरुबीच आपसी समन्वय र सहकार्यको अभावमा व्यवसायीहरु विभिन्न झण्झट र जटिलता व्यहोर्नु परेकोले अन्तर सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले राजस्व चुहावट नियन्त्रण राज्यको प्राथमिकता रहेकोले यसको नियन्त्रणको लागि सबै पक्षले सहयोग गर्न आग्रह गर्नुभयो ।
भिसिटिएसका सम्बन्धमा अँझ पनि व्यवहारिक जटिलता कायमै रहेकोले यस्ता अन्तरक्रियाका माध्यमबाट विभागले आफ्नो तवरबाट भिसिटिएसका सम्बन्धमा रहेका नीतिगत एवम् व्यवहारिक जटिलतालाई न्यूनीकरण गर्दै जानुपर्ने र निजीक्षेत्रले पनि भिसिटिएसका बारे अभ्यस्त हुँदै जानुपर्ने ढकालको भनाई थियो ।
राजस्व अनुसन्धान विभागका निर्देशक कृष्णप्रसाद पाण्डेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै राजस्व चुहावट नियन्त्रणका लागि सबै व्यवसायीहरुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । विभागका निर्देशक मुक्तिराम अर्यालले विभागका काम, क्षेत्राधिकार, राजस्व चुहावटको नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विभागका कम्प्यूटर अधिकृत पवन बस्नेतले भिसिटिएसका प्राविधिक पक्षहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवाल, आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदी,
नेपाल उद्योग वाणिज्य महासङ्घ–मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कार्यकारिणी समिति सदस्य शिवजी साह, सुरेश रुँगटा, उद्यमी दीपक पोखरेल लगायतले भिसिटिएसका सम्बन्धमा भोगेका कठिनाईका सम्बन्धमा आफ्नो अनुभव सुनाएका थिए ।
होली मिलन समारोह सम्पन्न
वीरगन्ज उद्योग वाणिज्य संघले होली मिलन समारोहको आयोजना गरेको छ । होटल भिस्वामा शनिबार आयोजना गरेको कार्यक्रममा अविर लगाएर शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरुलाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारीहरुले अविर लगाई दिएर स्वगत गर्दै शुभकामना आदान प्रदान गरेको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,
प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, संविधानसभा सदस्य विचारी यादव, अजय द्विवेदी, लोसपाका पर्सा अध्यक्ष पुरुषोत्तमलाल झा, नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंह
लगायत राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
होली मिलन समारोहमा उपस्थित पर्साका सुरक्षा अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरु