कार्तिक ५ गते वीरगन्जमा पहिलो पटक महिला उद्यमी सम्मेलन हुदै
वीरगन्ज, २० असोज । नेपाली महिलाहरु सहभागितामा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ । यही कात्तिक ५ गते (सन् २०२१ अक्टोबर २२ ) शुक्रबारका दिन वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको हो ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा उद्यमशीलतामा नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक महिला उद्यमी सम्मेलनको आयोजना गर्न लागेको नेपाली युवा उद्यमी मञ्चले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको मेहेनत, संघर्ष तथा सफलताका विषयलाई समेटेर प्रस्तुत गरिने मञ्चका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो । व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सो एक दिने अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागीहरूलाई ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
उद्यमशीलताको क्रममा महिलाले भोग्नु परेका समस्याहरूलाई उठान गर्ने र समाधानका उपायहरूमा गहन छलफल गर्नु पनि सम्मेलनको उद्देश्य रहेको अग्रवालले बताउनुभयो । महिला उद्यमशीलता प्रवद्र्धनका चुनौतीहरूको समाधान पहिल्याउँदै सम्भावनाको खोजीका निम्ति सरोकारका पक्ष तथा निकायहरूमा रचनात्मक पहल कदमीमा सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ ।
सम्मेलनमा १ सय भन्दा बढी महिला उद्यमीको सहभागितामा रहने छ । विभिन्न क्षेत्रमा व्यवासायमा सफल महिला उद्यमीहरूको सफलता र असफलतामा धैर्यताका अनुभवहरू आदानप्रदान गरिने छ । यसले व्यवासायमा नवप्रवेशीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ ।
जनसंख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको सशक्तीकरण नभई आर्थिक र सामाजिक विकासको रुपान्तरण सम्भव नरहेकोले सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरुबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने दक्षता विकासका सहयोग पुग्ने विश्वास गरिएको छ ।
अहिले पनि आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता न्यून रहेको अवस्थामा महिला उद्यमी सम्मेलनले महिलाहरूमा उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने जनाएको छ । सम्मेलनमा विभिन्न विषयका विषय विज्ञहरुसँगको अन्तकृया, अनुभव आदान प्रदान तथा उत्प्ररेणा प्राप्त हुने खालका सामग्रीहरुको पनि प्रस्तुती रहने छ ।
शहरी क्षेत्रका महिलाहरु मात्रै नभई ग्रामीण क्षेत्रका महिलाहरु जो उद्यममा आवद्ध भई उद्यमशिलताको विकासमा योगदान दिने खालका उद्यमीहरुको प्रवद्र्धन पनि गर्ने जनाएको छ । सम्मेलनले महिलाहरुलाई उद्यमशिलतामा थप आकर्षित गर्ने र स्वदेश मै उत्पादित स्वदेशी वस्तु नै प्रयोग गर्न प्रेरित पनि गर्ने महिला उद्यमी सम्मेलनकी संयोजक मनिषा श्रेष्ठले जानकारी दिनुभयो ।
अनुप अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण नेपाली युवा उद्यमी मञ्चकी सदस्य अंकिता कर्णले गर्नुभएको थियो ।