मतदाता परिचय पत्र भएर पनि दुईजना मतदाताले मत दिन पाएनन्  

मतदाता परिचय पत्र भएर पनि दुईजना मतदाताले मत दिन पाएनन्  

वीरगन्ज, ३० बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को एउटा मतदान केन्द्रमा दुईजना मतदाताले मतदाता परिचय पत्र भएरपनि मत हाल्न नपाएको गुनासो गरेका छन् ।

वडा नम्बर ३१ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेल्वा प्रसौनीमा दुईजना मतदाताले मतदाता परिचय पत्र भएर पनि मत हाल्नबाट बञ्चित भएका हुन् । वडा नम्बर ३१ का उमेश दास थारुको मतदाता परिचय पत्र २०४३८१५९ नम्बरको मतदाता परिचय पत्र भएपनि उहाँको मतदाता नामावलीमा नाम नभेटिएपछि मतदान केन्द्रबाट उहाँलाई फर्काई दिएको बताउनुभयो ।

मतदाता परिचय पत्र प्रविष्टी गर्दा निर्वाचन आयोगकको कर्मचारीको लापरवाहीका कारण आफूले भोट हाल्नबाट बञ्चित भएको उहाँले बताउनुभयो । त्यस्तै देव रानी थारुले पनि मतदाता नामावलीमा नाम नभेटिएपछि मत हाल्नबाट बञ्चित हुनु भएको छ ।

निर्वाचन कार्यालयले दिएको १३०८१७१२ नम्बरको पूरानो मतदाता परिचय पत्र लिएर मतदान गर्न जानुभएकी देव रानीलाई पनि मतदाता नामावलीमा नाम नभेटिएपछि मतदान केन्द्रबाट फर्काईएको छ । दिनभरी घाममा लाईन बसेर आफ्नो पालो आएपछि मतदान गर्न तयारी गर्दा नामावलीमा नाम नभेटिएको भन्दै आफूलाई मत खसाल्नबाट बञ्चित गराईएको उहाँको गुनासो छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जिता झाले भने नयाँ मतदाताहरुको त्रुटी हुन नसक्ने तर पूरानो मतदाताहरुले भने अद्यावधिक नगर्दा यस्तो समस्या आएको बताउनुभयो ।

उहाँले नागरिकता जस्तो एकपटक बनाएपछि ढुक्कले बस्न नहुने भन्दै मतदाता नामावली संकलन गर्ने बेलामा अद्यावधिक गराउनुपर्ने बताउनुभयो । मतदाताहरु परिचय पत्र बनाएपछि ढुक्क बसेर निर्वाचनको बेलामा मतदाता नामावलीमा नाम छ छैन भन्ने नहेर्ने गर्दा समस्या हुने गरेको बताउनुभयो ।