कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं, १४ भदौ । कक्षा १२ को नतिजा आज आउदै छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भने हुन बाँकी रहेको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यलयले यस पटक तीनथरि नतिजा सार्वजनिक हुने जनाएको छ । आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार प्रकाशन हुने र नियमित तर्फको परीक्षार्थीको लेटर ग्रेडिङ हुनेछ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ ।
अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार भने सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ । कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट पनि थाहा पाउन सकिनेछ ।