वीरगन्जका युवा शेख मुन्नाको साहस, वीरगन्जदेखि दिल्लीसम्म पैदल यात्रा गर्ने
बिरगंज, १४ साउन । युवाहरुको चाहना र साहस पनि थरी थरीका हुन्छन् । वीरगन्जका एक युवा त्यस्तै एउटा साहस लिएर दिल्लीसम्म पैदल यात्रा गर्नुहुने भएको छ ।
विश्वमा नेपाललाई चिनाउन वीरगन्ज २ छप्कैयाका युवा शेख मुन्नाले वीरगन्जदेखि भारतको राजधानी दिल्ली सम्म पैदल यात्रा गर्नु हुने भएको हो । वीरगंजदेखि दिल्लीसम्मको १०६० किलोमिटरको दूरी पैदल यात्रा गर्न लाग्नु भएको छ ।
नेपाल पत्रकार महासघ पर्साको सभाहलमा शनिबार पत्रकार सम्मेलन गरेर उहाँले वीरगन्जदेखि दिल्लीसम्मको पैदल यात्राको बारेमा जानकारी गराउनुभयो । नेपाललाई विश्वब्यापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको रोटी–बेटि एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ यो पैदल यात्रा गर्न लागेको उहाँले बताउनुभयो ।
पैदल यात्रा यही साउन २१ गते शनिबार वीरगंजबाट प्रारम्भ गर्ने र भारत बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद, बुलेन्दसहर हुदै दिल्ली पुगेर पैदल यात्रा पूरा गर्ने आफ्नो योजना रहेको जानकारी गराउनुभयो ।
पैदल यात्राका लागि नेपाल र भारत दुवै देशका सम्बन्धित निकायबाट आफूले अनुमति पनि लिइसकेको जानकारी उहाँले दिनुभयो । शनिवार उहाँले आफ्नो बुबा र आमालाई साक्षी राखेर पत्रकार सम्मेलन गरेर पैदल यात्राको विषयमा जानकारी गराउनु भएको हो ।