परि थापा
सामाजिक सत्ता र सामाजिक चेतना
धर्म र धार्मिक चेतनाका बारेमा चर्चा गर्नुभन्दा अगाडि सामाजिक सत्ता/अस्तित्व (Social Being) र सामाजिक चेतना (Social Consciousness) जस्ता ऐतिहासिक भौतिकवादका प्रवर्गहरु (Categories) सम्बन्धि अवधारणा बुझ्न अत्यावश्यक हुन्छ। ऐतिहासिक भौतिकवाद सामाजिक सत्ता/अस्तित्व प्राधान हो र सामाजिक चेतना गौण हो भन्ने आधारभूत अवधारणाबाट अगाडि बढ्दछ र धर्मको निश्चित ऐतिहासिक, आर्थिक एवम् संज्ञानात्मक जराहरु (आधारहरु) रहेका हुन्छन भन्ने कुरालाई उजागर गर्दछ। किनभने सामाजिक सत्ता/अस्तित्व र सामाजिक चेतना भनेका दुई अन्तर्सम्बन्धित र अन्तर्कृयात्मक पक्षहरु हुन, पहिलोले मानव समाजको भौतिक (material) जीवनलाई र दोस्रोले आत्मिक (spiritual) जीवनलाई प्रबिम्वित गर्दछन। सामाजिक सत्ता/अस्तित्व भनेको भौतिक सम्पत्ति उत्पादन गर्ने प्रकृयामा स्थापित हुने भौतिक सम्बन्ध हो, जस मार्फत मानिसहरु उत्पादनको प्रकृयामा प्रवेश गर्दछन। त्यसैगरि सामाजिक चेतना भनेको मानिसका वौद्धिक कृयाकलाप एवम् गतिविधिहरुको पाटो र परिणाम हो। यसो भन्नुको तात्पर्य के हो भने सामाजिक चेतनाको अवधारणाले सबै प्रकारका वौद्धिक गतिविधिहरुलाई समेट्दछ। अर्को शब्दमा भन्नुपर्दा समाजिक सत्ता/अस्तित्वको विकासको अवस्था र स्तर अनुसार नै सामाजिक चेतनाको पनि विकास र रुपान्तरणको प्रकृया अगाडी बढ्दै जान्छ। त्यस दौरानमा सामाजिक चेतनाका विभन्न रुपहरुको विकास र प्रकटिकरण हुन्छ। सामाजिक चेतनाका प्रमुख रुपहरु अन्तर्गत क्रमश: दार्शनिक चेतना, राजनीतिक चेतना, कानुनी/वैधानिक चेतना, नैतिक चेतना, सौन्दर्यात्मक चेतना, वैज्ञानिक चेतना र धार्मिक चेतना समाविष्ट हुन्छन।
धर्म र सामाजिक चेतनाका रुपहरु
धर्म र धार्मिक चेतनाका बारेमा छलफल चलाउनु भन्दा पहिले सामाजिक चेतनाका विभन्न रुपहरुको बारेमा पनि बुझ्न आवश्यक हुन्छ। दार्शनिक चेतनाले समग्र विश्व-जगतलाई प्रतिबिम्वित गर्दछ अर्थात जीवन र जगतलाई हेर्ने, बुझने र व्याख्या एवम् विश्लेशण प्रस्तुत गर्दछ। राजनीतिक चेतनाले मानिसहरुको राजनीतिक गतिविधि, वर्गहरु, राष्ट्रहरु, राज्यहरु र राजनीतिक पार्टीहरु बिचको सम्बन्धलाई प्रतिबिम्त गर्दछ। कानूनी तथा वैधानिक चेतना, जुन राजनीतिक चेतना संग घनिष्ठरुपमा जोडिएको हुन्छ, त्यसले कानूनको प्रकृति एवम् उदेश्य र कानून कार्यान्वयन गर्ने निकायहरु जस्तै काकूनी ब्यवस्था, अदालतहरु र अभिकर्ता/अभियोजन सम्बन्धि विभिन्न वर्गहरुको दृष्टिकोणलाई प्रतिबिम्वित गर्दछ। नैतिक चेतनाले मानिसहरुको ब्यवहारलाई नियमन गर्ने एउटा माध्यमको रुपमा काम गर्दछ र त्यसको उच्चतम सीमा नीतिशास्त्र (Ethics) को विकास सम्म पुग्दछ। सौन्दर्यात्मक चेतनाले मानिसको यथार्थता सम्बन्धि कलात्मक अनुभूतिको आवश्यकतालाई प्रतिबिम्बित गर्दछ।
अन्तत: धार्मिक चेतनाले पनि यस्तै गर्ने दावा गर्दछ तथापि ईशवरको अस्तित्वको कल्पना बाट अगाडि बढ्दछ। धार्मिक चेतना भनेको सामाजिक चेतनाको एउटा त्यस्तो रुपहो जसले वास्तविकता बारे अवैज्ञानिक प्रतिबिम्ब प्रस्तुत गर्दछ। अर्का शब्दमा भन्नुपर्दा धर्म भनेको वास्तविकताको विकृत प्रतिबिम्बन हो। यसको परिणाम भनेको ईश्वर, आत्मा, मरणोत्तर जीवन जस्ता अलौकिक विषयहरुमा विश्वास गर्नु हो। फ्रेडरिक एन्गेल्सले सामाजिक चेतनाको एउटा रुपको अर्थमा धर्मको सारतत्व र चारित्रिक विशेषताहरुको समग्ररुपमा यसरी निरुपण गरेकाछन: “…….सबै धर्म भनेका ति बाह्य शक्तिहरु, जसले मानिसका दैनिक जीवनलाई नियन्त्रण गर्दछन, को बारेमा मानिसहरुका दिमागमा पर्ने काल्पनिक प्रतिबिम्ब बाहेक अरु केहिपनि होइन, यसतो प्रतिबिम्ब जसमाथि लौकिक शक्तिहरुले अलौकिक शक्तिहरुको रुप धारण गर्दछन……ती काल्पनिक आकृतिहरु, जसले पहिले प्रकृतिका रहस्यमय शक्तिहरुको मात्र प्रतिबिम्बन गर्दथे, अहिले सामाजिक विशेषता हासिल गर्दछन्, इतिहासका शक्तिहरुको प्रतिनिधिहरु बन्दछन्”।(१)
यस परिभाषा अनुसार धर्मले यी कुराहरुलाई प्रतिबिम्बित गर्दछ: (१) मानिस माथि कायम भएको वास्तविक प्राकृतिक एवम् सामाजिक शक्तिहरुको प्रभूत्व (२) यो प्रतिबिम्बनले परालौकिक सत्ताहरु (देवता र दानव) अनि परलोक (स्वर्ग र नर्क) माथि विश्वासकोरुप धारण गर्दछ। अचम्म लाग्ने कुरो त केछभने यी परालौकिक सत्ता र संसारहरु जीवित मानिसहरुका विरद्ध मात्र होइन बरु एक-अर्काका विरुद्धमा समेत रहेकाछन किनभने दानवको कर्यभार भनेको मानिसहरुलाई ईश्वर द्वारा तैयार पारिएको सत्मार्ग बाट अन्यन्त्रै भड्काउन अगुवाई गर्नु हो र यदि सम्पूर्ण पापीहरुकालागि प्रतिक्षारत रहने नर्क हुदैनथ्यो भने स्वर्गको अस्तित्वले पूर्णरुपेण अर्थ गुमाउदथ्यो। यस सन्दर्भमा लेनिनको भनाईले सटिक ढंगले मार्ग निर्देशन गर्दछ, उनले लेखेकाछन, “हाम्रा लागि (कम्युनिस्टहरुका निम्ति) प्रमोदवन (Paradise) बारे स्वर्गमा सर्वहारावर्गीय विचारको एकता खोज्नु भन्दा पृथ्वीमै प्रमोदवनको सिर्जना गर्नको लागि उत्पीडित वर्गको वास्तविक क्रान्तिकारी संघर्षमा एकता कायम गर्नु धेरै महत्वपूर्ण कुरो हो।”(२)
धर्म र धार्मिक चेतनाको सारतत्व
धर्म भनेको केवल धार्मिक विचार र विश्वास मात्र होईन। धर्म भनेको धार्मिक भावनाहरु (दैनन्दिन मनोवैज्ञानिक सचेतनाको स्तर), देवी-देवताहरुको पूजा-अर्चना र धार्मिक अनुष्ठानहरुको कार्यसम्पादन पनि हो। त्यसबाहेक हरेक विकसित धर्म शाखाहरु सहितको एक धार्मिक संस्था (गुम्बा, चर्च, मस्जिद, मन्दिर आदि) द्वारा नियन्त्रित हुन्छ। धार्मिक चेतनाले धर्मशास्त्र (Theology) को तहमा पुगेर आफ्नो उच्चतम् सैद्धानितिक स्तर हासिल गर्दछ, जुन ईश्वरको सत्व सम्बन्धि धार्मिक सिद्धान्तहरुको प्रणाली हो, जसलाई व्यबसायिक पूजारीहरु द्वारा सविस्तार ब्याख्या गरिन्छ, तर प्राय: ईश्वरीय/दैवीय सन्देश प्रति समर्पित गरिएको हुन्छ। त्यस प्रयोजनका लागि विभिन्न धार्मिक ग्रन्थ एवम् शास्त्रहरुको रचना गरिएका हुन्छन।धर्मले केवल मानिस लगायत सम्पूर्ण संसार नै ईश्वर द्वारा श्रृजना गरिएको थियो भन्ने मात्र होईन कि बरु धार्मिक विश्वासहरु स्वयमलाई ईश्वर द्वारा मानिसको मन, मुटुमा आदिम काल देखिनै समाविष्ट गरिएको थियो भन्ने कुरो सिकाउंछ। तथापि विज्ञानले शङ्कारहित तरिकाले प्रमाणित गरिसकेकोछ कि इतिहासको बृहत्तर कालखण्डभर मानव जातिमा कुनैपनि धार्मिक विश्वास कायम थिएन किनभने उनीहरुले त्यसबेला सामान्यत: आवश्यक आर्थिक, सामाजिक अथवा आध्यात्मिक स्तर हासिल गरिसकेका थिएनन्। धर्मले त्यसमा विश्वास गर्नेहरुको मनमाथि शासन गर्दछ र त्यसरी एक विशेष सामाजिक कार्यको सम्पादन गर्दछ। यसतो कार्य भनेको सबैभन्दा मुख्य कुरो धर्मको दार्शनिक कार्य हो जसले गर्दा धर्मलाई दर्शन संग सादृष्य तुल्याउंदछ। जबकि भौतिकवादी दर्शनले मान्छेलाई वैज्ञानिक तथ्याङ्क र मानिसहरुका अनुभवका आधारमा अगाडि बढ्नेक्रममा धर्म भनेको जगत बारेको अवैज्ञानिक एवम् विकृत दृष्टिकोण हो जसका निम्ति परालौकिक शक्तिहरु माथिको पूर्ण विश्वास जरुरत पर्दछ भन्ने सम्बन्धमा जगतको चित्रण र मान्छेको भूमिकालाई प्रस्तुत गर्दछ।
धर्मले परलोकमा जीवनको निरन्तरता प्राप्त हुने आशा देखाएर मानिसहरुको आसन्न मृत्यु प्रतिको प्राकृतिक भयमा मलमपट्टि लगाएर क्षतिपूर्ति गरिदिने काम पनि संपादन गर्दछ। त्यसो गर्नेक्रममा धर्मले यस लोकमा दु:खपूर्ण रहेको उनीहरुको जीवन अर्को लोकमा सुखपूर्ण हुनेछ भन्ने शिक्षा दिएर मानिसहरुलाई विद्यमान सामाजिक व्यबस्था संग मेलमिलाप गराउन खोज्दछ। कुनैपनि वर्गविरोधि समाजमा धर्म र धार्मिक संस्थाहरु (चर्च आदि) लाई सत्तासिन वर्गहरु द्वारा वित्तीय सहयोग प्राप्त भएको हुन्छ र त्यसकारण वैयेक्तिक स्वामित्व एवम् विभिन्न मानिसहरु अनि वर्गहरु बिचको असमानतालाई पवित्रीकरण गर्ने कार्य गर्दछ। त्यहिंनेर नै धर्मको सबैभन्दा महत्वपूर्ण सामाजिक कार्य निहित रहेको हुन्छ।
धर्म उत्पत्तिको कारण र पृष्ठभूमि
धर्म कहिले र किन उपस्थित भयो अर्थात मानिसहरुले कहिले र किन ईश्वर र दुष्ट परालौकिक शक्तिहरुमा विश्वास गर्न शुरु गरे भन्ने कुरा बुझ्नु महत्वपूर्ण हुन्छ। धर्मको उद्भव सम्बन्धि विषय भनेको एक जटिल एवम् प्रायश: अन्तर्विरोधि प्रकृया हो। यसलाई, उदाहरणार्थ, भोल्तेयर (फ्रान्सीसी लेखक, इतिहासकार र दार्शनिक, १६९४-१७७८), जसले “जब पहिलो मुर्खले पहिलो ठगलाई भेट्यो तब धर्मको शुरुवात भयो”(३) भन्ने दावी गरे, ले गरेजसतो अतिसरलिकरण गर्नु हुदैन। वास्तवमा आज कतिपयको झुट र पाखण्ड अनि कतिपयको अज्ञानताले गर्दा धर्म प्रसारलाई बढावा दिएको र त्यसलाई धारण गर्न लगाएको/जिम्मेवार भएको कुरालाई नकार्न मिल्दैन। तथापि धर्मका जराहरु निकै गहिरो र धेरै नै जेलिएका छन।
आदिम समाजका मानिसहरुलाई ईश्वर जस्तो परालौकिक सत्ता/अस्तित्व बारेको कल्पनामा आइगुग्न निकै लामो समयावधि लागेको थियो। मानिसले आफु स्वयम्लाई किन यी सबै कुराहरु घटित हुन्छन? यसको पृष्ठभूमिमा के कस्ता कारणहरु रहेकोछन्? यसलाई कसले नियन्त्रण र परिचालन गर्दछ? भन्ने जस्ता बृहद अर्थ सहितका ज्ञानमिमांसीय प्रश्नहरु सोध्नु अगावै हजारौं पुस्ताहरु चट्याङको गर्जन, बिजुलीको चम्काई, भूकम्पको हलचल, बाढीको डुबान अनि बनको डढेलो कारण बाट भागेका थिए। त्यसैगरी हजारौं पुस्ताहरुले सूर्योदय र सूर्यास्त, ताराहरु र चन्द्रमा, जन्म अनि मृत्यु देखेका थिए। मानिसहरुले यी सबै प्रश्नहरुको जवाफ दिनसक्ने बन्नु पहिल्यै कैयौं धेरै आदिम पुस्ताहरु बितेका थिए, तर जब उनीहरुले समाज विकासको त्यो अवस्थामा एउटा वैज्ञानिक वाख्या प्रस्तुत गर्न असमर्थ भए तब अपरिहार्यरुपमा ईश्वर जस्तो परालौकिक सत्ता बारेको विचार निर्माण गर्न आइपुगे। लेनिनले लुडविग फायरवाख द्वारा लिखित “ईश्वर भनेको प्रकृति मार्फत ग्रहण गरिएका अत्यन्तै सार्वलौकिक गुणहरुको सम्मिश्रण थियो र एउटा स्वाधिन सत्ता (अस्तित्व) मा परिणत गरिएको थियो”(४) भन्ने कुरामा सहमति जनाएका थिए। जब आदिम कबिलाई सममुदाय विखण्डित भयो र वर्ग विरोधि समाजको उदय भयो तब मानिसहरु उनीहरु परालौकिक शक्तिहरु द्वारा शासित भएकाछन भन्ने विश्वासमा झनै सुनिश्चित हुनपुगे। एंगेल्सको शब्दमा भन्नु पर्दा, “ती कल्पित आकृतिहरु जसले प्रारम्भमा प्रकृतिका रहस्यमय शक्तिहरुलाई प्रतिबिम्बित मात्र गर्दथ्यो, यो बिन्दुमा आएर सामाजिक विशेषताहरु प्राप्त गर्दछ, इतिहासका शक्तिहरुको प्रतिनिधि बन्न पुग्दछ।”5 प्रारम्भमा धर्मको उत्पत्ति आदिम मानव माथि प्रकृतिका मौलिक शक्तिहरु हावी भएका कारणले गर्दा भयो। धार्मिक विचारहरु भनेका मानिस माथि हावी भएका बाह्य शक्तिहरु बारे उनीहरुको दिमागमा छाएका काल्पानिक प्रतिबिम्बहरु थिए। धर्मको उत्पत्ति आदिम समाजका मानिसहरुमा प्रकृति र चराचर जगतका परिघटनाहरु लाई हेर्ने, बुझ्ने र व्याख्या-विश्लेषण गर्ने सम्बन्धमा वैज्ञानिक ज्ञान एवम् सुझबुझको अभावहुनु नै हो। कालान्तरमा भाषाको विकास गरेसंगै मानिसले त्यस्ता परिघटनाहरु के-कसरी घटित हुन्छन भन्ने सम्बन्धमा अनुमान एवम् सोच-विचार गर्न थाल्यो। मानिसले धर्मलाई ईश्वर संग जोड्न पुग्यो अनि आफैले आफ्नै स्वरुपमा ईश्वर वा भगवानको कल्पना र निर्माण गर्यो फलस्वरूप आफुले निर्माण गरेको ईश्वरको आफै दास बन्न पुग्यो।
धर्म र ईश्वरको परिकल्पना
ईश्वर भनेको एउटा अलौकिक सर्वशक्तिमान सत्ता (अस्तितत्व) को काल्पानिक अवधारणा हो, जसले यो संसार (विश्व) को सृजना गरेकोहो र त्यसलाई शासन गरेकोछ भन्ने अनुमान गरिएको हुन्छ। यहुदीले जेहोवाह लाई, ईस्लामले अल्लाह लाई, क्रिश्चियनले पवित्र त्रिएक (Trinity)-पित्रेश्वर, पुत्रेश्वर र पवित्र भूतेश्वर-आदि लाई ईश्वर मान्दछन। ईश्वर सम्बन्धि अवधारणाले आधुनिक धर्मको रुपहरुको आधार निरुपण गर्दछ जबकि धर्मको शुरुवाती विकासको चरणहरुमा, जसमा जीवात्मावाद (Animism), उत्प्रेरणावाद (Fetishism), गणचिन्हवाद (Totemism) आदि पर्दछन, त्यहां यस्तो अवधारणा विद्यमान थिएन। कबिलाई र जातीय (राष्ट्रीय) ईश्वरहरुको अवधारणाहरु भने आदिम सामुदायिक प्रणालीको विघटन, कबिलाई संघहरुको विकास र वर्गहरुको एवम् राज्यको उत्पत्ति भएसंगै अस्तितत्वमा आएको हो। एउटा एकल र सर्वशक्तिमान भगवान/ईश्वर, देवी/देवता, स्वर्गाधिपति सम्बन्धी अवधारणाले “एउटा एकल पूर्वीय तानाशाहको प्रतिरूप” को रुपमा आकार ग्रहण गर्यो (एंगेल्स)।
ईश्वरले मान्छे बनाउंदैन, मान्छेले नै ईश्वर बनाउंदछ अथवा आफु स्वयम्का लागि ईश्वर बनाउंदछ। मान्छेले आफ्नै स्वरुपमा ईश्वरको सिर्जना गर्न पुग्यो, ईश्वरले आफ्नै स्वरुपमा मान्छे बनाएको होइन। जर्मन दार्शनिक फ्रेडरिक नित्से (१८४४-१९००) ले सर्वप्रथम ईश्वरको मृत्युको घोषणा गरेका थिए। समग्र प्राणी जगतमा मानिस मात्र त्यस्तो जीव हो, जस्ले ‘ईश्वर’ भनिने अस्तित्वहिन काल्पनिक विषयमा हजारौं बर्ष देखि अनावश्यक झन्झट बेहोर्दै आएकोछ र विभिन्न ‘धार्मिक’ समुहमा विभाजित हुंदै आएकोछ। त्यहि कारणले गर्दा निरन्तररुपमा सबैभन्दा धेरै अनावश्यक लडाईं-झगडा एवं हत्या-हिंसा सहन वाध्य भएकोछ। धर्मशास्त्रले ईश्वरको अस्तित्वलाई दार्शनिकरुपले प्रमाणित गर्न, यस्तो विचारलाई सुशोभित र आच्छादन गर्न, ईश्वरलाई एक निरपेक्ष विचार, एक सार्विक इच्छा, एक किसिमको अवैयक्तिक तर्कसंगत सिद्धान्तको रुपमा प्रमाणित गर्न आद्यात्मवादको सहारा लिन्छ। मार्क्सवादले ईश्वर सम्बन्धी यस्तो विचार र यसलाई प्रतिरक्षा गर्ने सम्पूर्ण प्रयत्नहरु आधारहीनछन् भन्ने कुरोलई पूर्णरूपेण: स्पष्ट पारेकोछ र सम्पूर्ण प्राकृतिक एवम् समाजशास्त्रहरुको विकासले संपुष्टि गरेकाछन।
लेनिनले लेखेकाछन, ईश्वर (इतिहास र वास्तविक जीवनमा नै) भनेको मानिसलाई बर्बरता पूर्वक पराधिन तुल्याउने बाह्य प्राकृतिक र वर्गीय दुबै अंकुश मार्फत उत्पन्न गराईएका त्यसता विचारहरु हुन, जसले त्यसतो पराधिनतालाई सुढृढ तुल्याउंछ, वर्ग संघर्षलाई निद्रामय सन्नटामा पुर्याउंछ (लठ्याएर सुताउंछ), जुन त्यसको सबैभन्दा पहिलो जटिलतम विचार हो।”(५) यस सन्दर्भमा कार्ल मार्क्सले धर्मलाई अफिमको संज्ञा दिंदै यसरी उल्लेख गरेकाछन, “मान्छेले धर्म बनाउंदछ, धर्मले मान्छे बनाउंदैन......धर्म भनेको उत्पीडित प्राणीको उच्छ्वास हो, हृदयहीन संसारको हृदय हो, अनि आत्माहीन अवस्थाको आत्मा हो। यो जनसमुदायका निम्ति अफिम हो।”(६) त्यसको तात्पर्य भनेको धर्म मानिसकालागि एक नशालु पदार्थ (अफिम) जस्तैहो जसको काम धार्मिक अन्धतामा लठ्याएर राख्ने नै हो।
धर्म र दार्शनिक विचारको पक्षधरता
अहिलेसम्म विकास भएका र विद्यमान रहेका सबै दार्शनिक विचारधाराहरु लाई मूलरुपमा दुई धारमा बाड्न सकिन्छ। ती हुन्: (क) भौतिकवाद र (ख) अध्यात्मवाद। भौतिकवादले पदार्थ लाई प्रथामिक र चेतना लाई गौण मान्दछ । अर्को शब्दमा भन्नुपर्दा भौतिकवादले चेतनालाई पदार्थको उपजको रुपमा मान्दछ जसको अर्थ पदार्थबाट नै चेतनाको उत्पत्ति हुन्छ भन्ने हो। अध्यात्मवादले चेतनालाई प्रथामिक र पदार्थलाई गौण मान्दछ। अर्को शब्दमा भन्नुपर्दा अध्यात्मवादले पदार्थलाई चेतनाको उपजका रुपमा ग्रहण गर्दछ जसको तात्पर्य चेतनाले नै पदार्थको निर्माण गर्दछ भन्ने हो। यसरी भौतिकवाद र अध्यात्मवाद दुई बिपरित ध्रुवीय दार्शनिक विचारधाराहरु हुन।
त्यसैगरि अध्यात्मवादी दार्शनिक विचारधारा पनि दुई भागमा विभाजित रहेकोछ। ती हुन: (क) बस्तुगत आध्यमवाद (Objective Idea।ism) र (ख) आत्मगत अध्यात्मवाद (Subjective Idealism)। बस्तुगत अध्यात्मवादका अनुसार सम्पूर्ण जीवन र चराचर जगतको सृष्टि कुनै परमेश्वर वा परमशक्ति (Super Power) द्वारा पूर्वनिर्धारित रुपमा गरिएको सिर्जना अथवा खेल हो भन्ने मान्दछ। यसको परिणामस्वरुप सर्वेश्वरवाद अथवा जगदिश्वरवाद (Pantheism) अस्तित्वमा आयो। आत्मगत आदर्शवादका अनुसार सम्पूर्ण चीजहरुको निर्माणकर्ता नै आत्मा हो र त्यसले सम्पूर्ण जीवन एवम् चराचर जगतलाई मिथ्या वा मायावी भ्रम ठान्दछ। त्यसको तात्पर्य के हो भने जीवन र जगतमा दृष्टिगोचर भैरहने सम्पूर्ण परिघटनाहरुको वास्तविकरुपमा अस्तित्व हुंदैन र जुन परिघटनाहरु देखिन्छन ती सबै मायावी भ्रम सिवाय केहि होईनन्। सबै धर्म र धार्मिक सम्प्रदायहरुले माथि उल्लेखित मध्ये एक वा अर्को आघ्यात्मिक विचारधाराको पक्षधर हुन्छन र त्यसको पक्षपोषण गर्दछन।
विभिन्न धर्म र धार्मिक सम्प्रदायहरु
अहिले विश्वमा प्रचलित सम्पूर्ण धर्म र धार्मिक सम्प्रदायहरुलाई दुई भागमा विभाजन गरेर विश्लेषण गर्न सकिन्छ। त्यस अनुसार (क) विश्व (World) धर्म र (ख) क्षेत्रीय (Regional) धर्म। दोस्रो प्रकारको धर्मलाई राष्ट्रीय वा स्थानीय धर्म पनि भन्न सकिन्छ। एशिया, अफ्रिका, ल्याटिन अमेरिका र ओशेनीयाका धेरै देशहरुमा अझै सम्म आदिम विश्वासहरुलाई पूरै आत्मसात् गर्ने जीवात्मावाद (Animism), उत्प्रेरणावाद (Fetishism), गणचिन्हवाद (Totemism) र जादू (Magic) आदि जस्ता विभिन्न कविलाई धर्महरु विद्यमान रहेकाछन। स्याम्युअल पी. हन्टिङटनका अनुसार अहिलेको अवस्थामा प्रमुख धार्मिक परम्पराहरुका अनुयायीहरुको जनसांखिक अनुपातको प्रतिशत यसप्रकार रहेकोछ: पश्चिमी ईसाई २९.९ प्रतिशत, अर्थोडक्स ईसाई २.४ प्रतिशत, स्लाम १९.२ प्रतिशत, गैरधार्मिक १७.१ प्रतिशत, हिन्दू १३.७ प्रतिशत, वौद्ध ५.७ प्रतिशत, लोक चीनियां २.५ प्रतिशत, कबिलाई १.६ प्रतिशत र नास्तिक=४. प्रतिशत।(७) यहां तीन विश्व धर्महरु र केहि राष्ट्रीय/क्षेत्रीय धर्महरुका बारेमा संक्षिप्त जानाकारी दिने प्रयत्न गरिनेछ।
विश्व धर्महरु
विश्व धर्म तीनवटा रहेकाछन जुन आज विश्वभर व्यापकरुपमा फैलिएका छन। ती हुनः (क) वौध्द धर्म, (ख) कृश्चियन धर्म र (ग) स्लाम धर्म। क्रिस्चियन र स्लाम धर्महरुलाई अब्रहामिक धर्म पनि भनिन्छ जस अन्तर्गत यहुदी धर्म समेत समाविष्ट हुन्छ। यी सबै विश्व धर्महरु प्रचारक धर्म हुन। ति मध्ये पनि कृश्चियन धर्म प्रचारात्मक रुपले धेरै कृयाशिल रहेको छ। मार्क्सवादका प्रवर्तकहरुले यी तीनवटा विश्व धर्महरु (वौध्द धर्म, क्रिस्चियन धर्म र इस्लाम धर्म) लाई प्राचीन धर्महरु जुन कबिलाई र राष्ट्रीय धर्महरुका रुपमा रहेका थिए, तीनिहरुका विरुद्धमा भएको मानेकाछन । यी सबै धर्महरुका बिचमा व्यापक भिन्नताहरु रहेकाछन।धर्मको इतिहासमा विश्व धर्महरु सापेक्षितरुपले पछिल्ला एवम् पूर्णरुपले फरक परिघटनाहरु रहेका थिए। यो नै मानिसहरुका बिचमा धार्मिक सम्बन्ध विकाश भएको पहिलो समय थियो जुन जातीय, भाषिक र राजनीतिक सम्बन्धहरु भन्दा फरक रहेको थियो। मानिसहरुले उनीहरु कहां जन्मेका थिए, कुन भाषा बोल्थे, कुन देशमा बस्थे अथवा कहांको नागरिकता प्राप्त गरेका थिए भन्ने कुराको अपेक्षा बिनानै एउटा विश्वासमा एकजुट हुन सुरुवात गरे। यसरी विश्व धर्महरुको उत्पत्ति र बिस्तारलाई ऐतिहासिकj परिस्थितिहरुको दुर्लभ समुच्चयले/समग्रताले नै हरेक समयमा शिघ्रता प्रदान गरेको थियो।
वौध्द धर्म सबै विश्व धर्महरु मध्ये सबैभन्दा पूरानो धर्म हो। जसरी क्रिस्चियन धर्मले युरोपमा, इस्लाम धर्मले मध्यपूर्व (पश्चिम एशिया) र उत्तर अफ्रिकामा भूकिका खेलेकाछन त्यसैगरि वुद्ध धर्मले एशियाको इतिहासमा महत्वपूर्ण भूमिका निभाएको छ। क्रिस्चियन धर्म दोस्रो विश्व धर्मको रुपमा विकास भएको थियो जसको ईतिहास प्राथमिकरुपमा युरोपको इतिहास संग घनिष्ठरुपले र पछि गएर अरु धेरै गैरयुरोपीय देशहरु संग जोडिएको थियो। आज क्रिस्चियन धर्मनै सबैभन्दा बढी बिस्तार (मुख्यत: युरोप र अमेरिकामा) भएको विश्व धर्म हो। इस्लाम तेस्रो र पछिल्लो विश्व धर्मको रुपमा विकास भएको थियो। यो एकदमै विस्तार भएको धर्म मध्य एउटा हो र खासगरेर उत्तर अफ्रिका, दक्षिण-पश्चिम, दक्षिण र दक्षिण-पूर्व एसियामा विस्तार भएको छ।
वौध्द धर्म
वौध्द धर्म, जसको उद्भव ईसापूर्व छैंठौ देखि पांचौ शताब्दीमा भएको थियो। विश्व धर्महरु मध्ये वौध्द धर्म सबैभन्दा पूरानो धर्म हो। वौद्ध धर्मका प्रवर्तक सिद्दधार्थ गौतम वुद्ध हुन जसको जन्म नेपालको लुम्विनीमा भएको थियो। वौद्ध धर्मको प्रमुख धर्मग्रन्थलाई त्रिपिटक भनिन्छ। महायानी वौद्ध धर्मावलम्बिहरुले “ऊं मणि पद्मे हुं” लाई मूलमन्त्रको रुपमा जप्ने गर्दछन। वौध्द धर्म अन्तर्गत दुईवटा मूख्य सम्प्रदायहरु रहेकाछन, ती हुन: (क) हिनयान, जसको तात्पर्य सांघुंरो बाटो भन्ने हुन्छ। र (ख) महायान, जसको अर्थ फराकिलो बाटो भन्ने हुन्छ। वौद्ध धर्मका प्रमुख तिर्थस्थलहरु मध्ये वुद्धको जन्मस्थान लुम्विनी (नेपाल) र वोधगया, कुसीनगर र सारनाथ (भारत) हुन। वुद्ध स्वयम ईश्वरवको अस्तित्वको बारेमा मौन बसेकाछन तर वौद्ध धदर्मावलम्विहरु (उनका अनुयायीहरु) ले भने उनलाई ईश्वर (भगवान) मान्दछन् र अहिले विश्वमा सबैभन्दा धेरै मूर्ति सम्भवत: वुद्धको नै स्थापित भएकाछन। वुद्ध धर्मको सारतत्व भनेको मध्यम मार्ग हो। वुद्ध धर्मको अन्तिम लक्ष्य भनेको परिनिर्वाणको प्राप्ती गर्नु रहेकोछ जस अनुसार संसार, कर्म र पुनर्जन्मबाट समेत उन्मुक्ति प्राप्त हुनु रहेकोछ।
इशाई धर्म
इशाई धर्म, जसको उद्भव ईसाको प्रथम शताब्दीमा भएको थियो। इशाई धर्मका प्रवर्तक यीशु (जेसस) क्राइस्ट हुन र उनलाई ईश्वरको पुत्र भनेर मानिन्छ। पवित्र बाइबललाई इशाई धर्मको प्रमुख धार्मिक ग्रन्थ मानिन्छ। इशाई धर्म अन्तर्गत तीनवटा सम्प्रदायहरु रहेकाछन, ती हुन: (क) रोमन क्याथोलिक (ख) प्रोटेस्टेन्ट र (ग) अर्थोडक्स। रोमन क्याथोलिकहरुको केन्द्र इटालीको राजधानी रोम शहरको बिचमा अवस्थित भेटीकन सीटी (नगर) हो जसले राज्यकै हैसियतमा कार्य गर्दछ र संयुक्त राष्ट्र संघमा पर्यवेक्षकको मान्यता प्राप्त गरेकोछ। प्रोटेस्टेन्ट सम्प्रदायको निश्चित केन्द्र कायम रहेको छैन तर संयुक्त अधिराज्य (वेलायत) मा राष्ट्राध्यक्ष बन्नका लागि भने प्रोटेस्टेन्ट सम्प्रदायको सदस्य हुनु पर्दछ। अर्थोडक्स सम्प्रदाय रुस र पूर्वी युरोपीय देशहरुमा कायम रहेकोछ र रुसी चर्चलाई त्यसको केन्द्र मानिन्छ। इशाई धर्मले एकेश्वरवाद (Monotheism) लाई मान्दछ र मूलत: पुनर्जन्मको सिद्धान्तलाई मान्दैन।
स्लाम धर्म
स्लाम धर्म, जसको उद्भव ईसाको सातौं शताब्दीमा भएको थियो र यो सबैभन्दा पछल्लो विश्व धर्म हो। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद हुन जसको जन्म साउदी अरबको मेक्कामा भएको थियो। उनलाई ईश्वर (अल्लाह) को सन्देशवाहकको रुपमा मानिन्छ। पवित्र कुरानलाई स्लाम धर्मको प्रमुख धार्मिक ग्रन्थ मानिन्छ। इस्लामको शाब्दिक अर्थ शान्ती हुन्छ। इस्लाम धर्मावलम्बीले अभिवादनका रुपमा “स्लाम वालेकम” भन्ने वाक्यांश उच्चारण गर्ने गर्दछन जसको तात्पर्य शान्ती छाओस भन्ने हुन्छ। इस्लाम धर्म अन्तर्गत दुईवटा प्रमुख सम्प्रदायहरु रहेकाछन ती हुन: (क) सिया सम्प्रदाय र (ख) सुन्नी सम्प्रदाय। सिया सम्प्रदायले ईरान र सुन्नी सम्प्रदायले सउदी अरबलाई आफ्नो केन्द्र मान्ने गर्दछन। स्लाम धर्मका प्रमुख तिर्थस्थलहरु मक्का र मदिना (साउदी अरब) हुन। स्लाम धर्मले पनि एकेश्वरवाद (Monotheism) लाई मान्दछ र मूलत: पुनर्जन्मको सिद्धान्तलाई मान्दैन।
क्षेत्रीय तथा राष्ट्रीय धर्महरु
क्षेत्रीय धर्महरुमा हिन्दू, जैन र सिख (नेपाल/भारत), ताओ (चीन), सिन्तो (जापान) जरास्थुर (इरान) यहूदी (इजरायल) आदि पर्दछन। यीनिहरु सबै अप्रचारक धर्महरु हुन। हिन्दू धर्म बाहेक अन्य धर्महरुलाई निश्चित धर्मगुरू वा प्रवर्तकहरुले अगाडि बढाएकाछन। तर हिन्दू धर्ममा त्यस्ता खास प्रवर्तकको उपस्थिति रहेको छैन। हिन्दू धर्मले बहुश्वरेवाद (Polytheism) लाई मान्दछ त्यसैले धेरै देवी-देवताहरुको कल्पना गरिएको छ र कल्पित आकृतिहरुको मानवीकिकरण (Personification) गर्दछ। हिन्दू धर्मले ईश्वरको क्रमिक अवतार (Incarnation) हुने सिद्धान्तलाई अङ्गीकार गर्दछ र पुनर्जन्ममा विश्वास गर्दछ। हिन्दू धर्म विश्वमा सम्भवत: एकमात्र मूर्ति पुजक धर्म पनि हो। अन्य राष्टिय र क्षेत्रीय धर्महरुको तुलनामा हिन्दू धर्म मान्नेहरुको संख्या उल्लेख्य मात्रामा रहेकोछ। हिन्दू धर्म अन्तर्गत विविध पन्थ र सम्प्रदायहरु पनि अस्तित्वमा रहेकाछन, ती मध्य वैष्णव मार्गी, शैव मार्गी र कृष्ण प्रणामी आदि प्रमुख रहेकाछन्। वास्तवमा हिन्दू धर्म भनेको धर्म भन्दा बढ्ता एक आर्थिक-सामाजिक संरचना (Socio-economic Formation) हो किनभने यसले जात/वर्ण व्यबस्थालाई अंगीकार गर्दछ।
धर्म र राजनीतिको अन्तर्सम्बन्ध
मध्ययुगीन कालसम्म धर्म, राज्य व्यबस्था र राजनीति बिचको सम्बन्ध छुटिएको थिएन र एकार्कामा अन्तर्सम्बन्धित रहेको थियो। अन्य क्षेत्रमा जस्तै राज्य व्यबस्था एवम् राजनीति माथि पनि धर्मको अधिपत्य रहन्थ्यो र धार्मिक संस्था एवम् धर्माधिकारीहरुले नै राजकाज चलाउंथे। क्याथोलिकहरुले त “ईश्वरको पत्र (God’s Letter)” पठाएर सर्वसाधारण बाट कर असुली गर्दथे। कालान्तरमा राज्यको जीम्मेवारी र कार्य क्षेत्र बिस्तार हुंदै गएपछि धर्म र राजनीति बिचको सम्बन्ध अलग हुन पुग्यो। तर अहिले सम्म आइपुगदा पनि राजनीति र राज्य व्यबस्थामा एक वा अर्को रुपमा धर्मको प्रभाव कायमै रहेकोछ। त्यसको ज्वलन्त उदाहरण भनेको कुनै न कुनै मात्रा र रुपमा धर्मसापेक्ष राज्य व्यबस्थाहरु कायम रहनु हो। मानव समाजको इतिहासमा अन्य कारणले भन्दा धेरै धर्मको नाममा कैंयौ धार्मिक युद्धहरु (crusades) भएकाछन र व्यापक नरसंहारका घटनाहरु भएकाछन्। त्यसैगरि धार्मिक कट्टरपन्थको कारणले गर्दा धार्मिक रुढीवादको आलोचना गर्ने वौद्धिक वर्गहरुलाई धर्मनिन्दा र ईश्वरनिन्दा (blasphemy) गरेको आरोपमा राज्य वा धार्मिक सम्प्रदाय द्वारा कठोर डण्ड सहायको घोषणा गर्ने प्रचलन यद्धापि कायम रहेको छ। एउटा धार्मिक सम्प्रदायले आफुलाई सर्वोत्कृष्ट देखाएर अर्को धार्मिक सम्प्रदाय प्रति घृणाभाव र विद्वेष फैलाउने असभ्य गतिविधिहरु सन्चालन हुने गरेकाछन। अहिलेको सभ्य भनिएको युगमा आइपुग्दा समेत धार्मिक कट्टरपन्थी समुह र संध संगठनहरुले राज्य सत्ता नै कब्जा गर्ने र राजनीतिक पार्टीहरुलाई आफ्नो छद्म (Proxy) निकायका रुपमा सन्चालन गरेर राष्ट्रीय राजनीतिमा हावी भैरहेको अवस्था छ। त्यसैगरि आफुलाई गैरधार्मिक वा धर्मनिरपेक्ष भनाउन चाहने राजनीतिक दल एवम् सरकारहरुले समेत आफ्नो पक्षमा समर्थन जुटाउन धर्मावलम्बी जनसमुदायहरुको धार्मिक भावनाको दोहन गर्ने दुस्प्रयास गरेकाछन। मानव समजको विकासक्रमले फड्को मारेर पूंजीवादी आर्थिक-समाजिक व्यबस्थामा आइपुग्दा पनि धर्मले मानिसहरुमा किन यसरी लगातार पकड कायम राखिरहेकोछ भन्ने कुरा बुझ्न आवश्यक छ। लेनिनले पूंजीवादी देशहरुमा धर्मको मुख्यत: सामाजिक जराहरु/आधारहरु रहेकोमा जोडदिंदै भनेकाछन, “आज धर्मको सबैभन्दा गहिरो जरा/आधार भनेको कामदार जनसमुदायहरुको सामाजिकरुपले नै शोषित-पीडित अवस्था कायम रहनु र पूंजीवादका अन्ध शक्तिहरुका सामुन्ने स्पष्टरुपले सम्पूर्णरुपेण तीनिहरुको असाहयपन कायम हुनु हो जसले हरेक दिन अनि हरेक क्षण सामान्य कामदार मानिसहरु माथि युद्ध र भूकम्प जस्ता असामान्य घटनाहरुले दिएको पिडा भन्दा हजारौं गुणा बढी अत्यन्तै डरलाग्दो प्रताडना र असाध्यै बर्बर यातनायुक्त सास्ति दिन्छ।”(८)
अगस्ट बेबेलले पुंजीवादीहरुले आफ्नो सत्ता जोगाउन कसरी धर्मको आडलिन पुग्छन भन्ने कुरोलाई यसरी प्रष्ट पारेकाछन: सत्तासिन वर्गले आफनो अस्तित्वमा खतरा आइलागेको महसुस गर्दछ तब सम्पूर्ण प्राधिकारकोरुपमा धर्मको सहारामा टांसीन पुग्दछ, जसरी विगतमा सबै सत्तासिन वर्गले गर्ने गरेकाछन्। बुर्जुवावर्गले कुनैपनि कुरामा विश्वास गर्दैन, बुर्जुवावर्गले आफैले जन्माएको आधुनिक विज्ञान को माध्यम द्वारा उसको आफ्नै सम्पूर्ण विकास गर्ने क्रममा धर्म र सवै प्राधिकार माथिको विश्वासलाई विनाश गरिरहेकोछ। उसको विश्वास भनेको देखावटी मात्र हो, अनि चर्च (धार्मिक संस्थाहरु) ले यसतो ढोंगी मित्रको सहयोग स्वीकार गर्दछन् किनभने उसलाई त्यसको आवशयकता पर्दछ। “धर्म जनताका लागि आवश्यक हुन्छ।”(९)
धर्मको विज्ञान विरोधि सारतत्व
मध्ययुगिन कालमा सबै क्षेत्रमा धार्मिक संस्था (चर्च) को अधिपत्य कायम रहेको थियो जसले सामाजिक चेतनाका अन्य सबै रुपहरुमाथि दमन गरेको थियो। जसतो कि कलालाई धार्मिक (बाइबल) विषयवस्तुहरु समावेस गर्ने सर्तमा मात्र अस्तित्वमा रहने अधिकार थियो, नैतिकताले धार्मिक गुण ग्रहण गरेको थियो, दर्शनशास्त्रलाई धर्मशास्त्रको नोकरमा परिणत गरिएको थियो र वैज्ञानिकहरुलाई सजिलै अंध्यारो कालकोठरीमा थुनेर राखिन्थ्यो वा धार्मिक अदालतको आदेशमा जलाइने गरिन्थ्यो।
धर्म विज्ञान र वैज्ञानिक दृष्टिसोण प्रति अत्यन्तै असहिष्णु र प्रतिरोधि हुन्छ। धार्मिक संस्था (चर्च) ले शताब्दियौं सम्म विज्ञानको निर्मतापूर्वक दमन गर्यो र वैज्ञानिकहरुलाई अभियोग लगायो। घर्मले प्रगतिशिल विचारहरुलाई फैलनबाट निषेध गर्यो, ती विचारहरुको प्रचार गर्ने पुस्तकहरुलाई नष्ट गर्यो र लेखकहरुलाई कालकोठरीमा थुनेर राख्यो अनि शुलीमा चढाएर डढायो। गिओर्दानो ब्रुनो र लुसिलियो भानिनि जस्ता प्रख्यात वैज्ञानिकहरु लगायत कैयौं प्रगतिशिल मानिसहरुको धार्मिक परिक्षणको ज्वालामा प्राणपखेरु उडाईयो। त्यसप्रकारका प्रयत्नहरु निरर्थक रहेकाछन। विज्ञान र धर्ममा संगति हुंदैन। विज्ञानले मानिसहरुलाई जगत र विकासका नियमहरुका सम्बन्धमा सांचो ज्ञान प्रदान गर्दछ। विज्ञानले मानिसलाई प्राकृतिक र सामाजिक शक्तिहरुका बारेमा पारंगत हुन र उत्पादनलाई संगठित गर्न मदद गर्दछ। धर्मले, अर्कातिर, जगतको सत्वलई अपभ्रंस गर्दछ, त्यसका बारेमा गलत ब्याख्या गर्दछ, मान्छेको मन र मनोकांक्षालाई बेबकुफ बनाउंछ र विज्ञान र प्रगतिको सफलता बारेको उसको आत्मविश्वासलाई अपहरण गर्दछ।
तथापि युरोपमा धर्म सुधार अभियानका साथै भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान र खगोलशास्त्र जस्ता प्रकृति विज्ञानको क्षेत्रमा विकाश हुनुमा प्रोटेस्टेन्ट सम्प्रयदायको महत्वपूर्ण भूमिका रहेको थियो। क्याथोलिक सम्प्रदायको विज्ञान विरोधी चरित्रको विरुद्धमा आवाज उठाएकाले नै उनीहरुलाई प्रोटेस्टेन्ट (Protestant) भनिएको थियो, जसको अर्थ विरोधि भन्ने हुन्छ। कठोर धार्मिक पावन्दिहरुका वाबजुद पनि विज्ञानको विकास र वैज्ञानिक खोजहरुको क्रम रोकिएन र निरन्तर अगाडी नै बढी रह्यो। अन्तत: धार्मिक कठमुल्लावादले विज्ञान प्रतिको वैमनश्यता र त्यस संगको प्रतिद्वन्दितालाई न्युनिकरण गर्न बाध्य हुंदै गयो।
धर्मिक विश्वास र कम्युनिष्ट पार्टी
ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई अंगिकार गर्ने मानिसहरुमा धर्म, धार्मिक संस्थाहरु (गुम्बा, चर्च, मस्जिद, मन्दिर आदि) र धर्ममा विश्वास राख्नेहरु प्रतिको मार्क्सवादी दृष्टिकोण बारे स्पष्ट धारणा हुनै पर्दछ। यस सम्बन्धमा लेनिन द्वारा लेखिएको दुईवटा लेखहरु “समाजवाद र धर्म (१९०५)” अनि “धर्म प्रति श्रमिक पार्टीको दृष्टिकोण (१९०९)” को राम्ररी अध्ययन गर्न आवश्यक हुन्छ। कम्युनिस्टहरुले मार्क्सवाद-लेनिनवादलाई आफ्नो मार्ग निर्देशक सिद्धानतको रुपमा मान्दछन जुन सारमा भन्नुपर्दा एक नास्तिकतावादी विचारधाराहो। कम्युनिस्टहरुले मत्यैकताकासाथ धर्म भनेको “जनताको लागि अफिम” जस्तै हो भनेर परिभाषित गर्दछन जुन एक प्रकारको आत्मिक दासत्व हो जसले शारिरिक दासत्वलाई मनासिव ठहराउने लक्ष्य लिएको हुन्छ।
तथापि माथि उल्लेखित भनाईको तात्पपर्य कम्युनिस्टहरुले धर्ममा विश्वास गर्नेहरुको धार्मिक भावना एवम् विश्वासलाई सम्मान गर्दैनन् भन्ने फेरि होइन। कार्ल मार्क्सले आस्था र धार्मिक विश्वासलाई अविच्छेद्य मानवअधिकारका रुपमा रहने विचार राखेकाछन। तत्सम्बन्धमा उनको स्पष्ट भनाई यसप्रकार रहेकोछ, “धर्म र मान्छेको अधिकार बिचको असंगति मान्छेको अधिकारको अवधारणाको हदसम्म अनुपस्थित रहन्छ ताकि त्यसका विपरित एउटा मान्छेले उसको छनौट अनुसार कुनैपनि रुपमा धार्मिक हुन पाउने, उसको आफ्नै विशेष धर्म मान्न पाउने अधिकार स्पष्टरुपले मान्छेका अधिकारहरु मध्येमा समाविष्ट हुन्छन। निष्ठा सम्बन्धि विशेधिकार भनेको मान्छेको सार्विक अधिकार नै हो।”(१०)
के धार्मिक मानिसहरु खासगरेर पुजारी (पूरोहित)हरु एउटा मार्क्सवादी (कम्युनिस्ट) पार्टीमा आउन सक्छन जुन पार्टी नास्तिक विचारधारा बाट निर्देसित हुन्छ? भन्ने प्रश्न आज जति महत्वपूर्ण छ एक शताब्दी अगाडी त्यत्तिकै महत्वपूर्ण थियो। जसको बारेमा लेनिनले सन १९०९ ताका नै बिस्तृतरुपमा उत्तर दिएका थिए। उनले आफ्नो “धर्म प्रति श्रमिक पार्टीको दृष्टोण” भन्ने रचनामा यसरी उल्लेख गरेकाछन:
“पूजारीहरु सामाजिक जनवादी पार्टीको सदस्यहरु हुन सक्दैनन् भनेर सधैंकालागि निश्चय गर्न सकिदैन, नत त्यसका विपरित नियमहरु नै बनाउन सकिन्छ। यदि कुनै पूजारीले हाम्रा साझा राजनीतिक कार्यमा सहभागि हुनका लागि हामी समक्ष आउंछ भने र पार्टी कार्यक्रमहरुको विरोध नगरिकनै अन्तस्करण देखिनै पार्टीका जिम्मेवारीहरु सम्पन्न गर्दछ भने उसले समाजिक जनवादी पार्टी पंक्तिमा सामेल हुने अनुमति पाउन सक्दछ, किनभने त्यसो परिस्थितिमा हाम्रो कार्यक्रमको भावना र सिद्धानतहरु अनि पूजारीको धार्मिक विश्वास बिचको अन्तर्विरोध भनेको उसंग मात्र सम्बन्धित कुरो हुनेछ, उसको आफ्नो वैयक्तिक अन्तर्विरोध हुनेछ, र एउटा राजनीकि संगठनले उसका सदस्यहरुलाई उनीहरुको दृष्टिकोण एवम् पार्टी कार्यक्रमको बिचमा अन्तर्विरोध छकि छैन भनेर हेर्नकालागि परिक्षामा राख्न सक्दैन…….र यदि एउटा पूजारी, उदाहरणार्थ, समाजिक जनवादी पार्टीमा सामेल भयो र उसले आफ्नो मुख्य एवम् एकमात्र काम पार्टीमा सक्रियरुपले धार्मिक विचारहरु प्रचार गर्ने बनायो भने उस्लाई बिनाप्रश्नै पार्टी पंक्तिबाट निस्कासन गर्नु पर्दछ। हामीले समाजिक जनवादी पार्टीमा ती मजदुरहरु जसले ईश्वरमा विश्वास गर्छन, तीनिहरुलाई सामेल नगर्ने मात्र होइन, बरु जानीबुझिकनै तीनिहरुलाई भर्ती गर्नै पर्दछ, हामी निरपेक्षरुपले नै तिनिहरुको धार्मिक विश्वास प्रति थोरैमात्र पनि दमनको विरुद्धमा छौं, तर हामीले तीनिहरुलाई हाम्रो कार्यक्रमको भावना अनुरुप शिक्षित गर्नका निम्ति भर्ना गर्दछौं, र त्यसका विरुद्धमा सक्रिय संघर्ष गर्ने अनुमति दिनकालागि होइन।”(११)
तथापि कम्युनिस्ट पार्टीले धर्मलाई आफ्ना पार्टी सदस्यहरुका बारेमा भने वैयक्तिक मामला मान्दैन। यस सम्बन्धमा लेनिनले यसरी स्पष्ट पारेकाछन्, “हामीले के माग गर्दछौं भने जहांसम्म राज्यको सरोकार छ धर्मलाई वैयक्तिक मामलाकोरुपमा कायम गर्नु पर्दछ। तर जहांसम्म हाम्रो पार्टीको सरोकार छ हामीले कुनैपनि हालतमा वैयक्तिक मामलाकोरुपमा मान्न सक्दैनौं। राज्यको लागि धर्म कुनै सरोकारको विषय हुदैन र धार्मिक समाजहरुको सरकारी प्राधिकार संग कुनै सम्बन्ध हुनु हुंदैन।”(१२) कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरुलाई धर्म लगायत हरेक किसिमका आध्यात्मिक उत्पीडन संग जुध्न निरन्तर आग्रह गर्दछ। मार्क्सवादीहरुले धर्मका आधारहरुलाई भौतिकवादी दृष्टिसोण बाट ब्याख्या गर्दछन र मुख्य सामाजिक विभाजनको रेखा धार्मिक मानिसहरु र नास्तिकहरुको विचमा नभएर शोषक र शोषितको विचमा छुट्याउंदछन्।
भविष्यमा धर्मको विलोपिकरण:
धार्मिक विचार र सिद्धान्तहरु तथ्यमा नभएर कथ्य र मिथकमा आधारित हुने भएकाले तीनिहरुमा समयानुकूल परिवर्तन र रुपान्तरण सम्भव हुदैन। किनभने विद्यमान धर्महरुको सारतत्व अन्धविश्वास, मिथक, तर्कहीनता, र रीतिथितिहरु बाट निर्माण भएकोछ। त्यसको परिणामस्वरुप बेकामे (Obsolete) हुंदै गएकाछन् र जानेछन्। वैज्ञानिक पद्धति लाई नकार्ने भएकाले जीवन र व्यवहारले गलत सावित गरिसक्दा पनि अन्धविश्वास र अन्धभक्तिको बाटो अंगिकार गर्दछन्। किनभने जब मानिसहरुमा वैचारिक शुन्यताको अवस्था सिर्जना हुन्छ, त्यो खाली ठाउंको पूर्ती धार्मिक विश्वासले गर्दछ। समग्रमा भन्नु पर्दा शिक्षा, विज्ञान र आत्मिक संस्कृतिको प्रगति संगै क्रमिकरुपमा धर्मको विलय हुदै जानेछ।
जब मानव समाजको विकासक्रम वैज्ञानिक समाजवादको चरणहुंदै साम्यवादको अस्थामा प्रवेश गरेसंगै जसरी
राज्य संरचनाको विलोपिकरण (उन्मूलन होइन) हुनेछ, त्यसरी नै धर्मको पनि विलोपिकरण हुनेछ। त्यो अवस्थाका बारेमा अगस्ट बेबेलले यसरी उल्लेख गरेकाछन: राज्यको जस्तै धर्मको अवस्था हुनेछ। यसलाई ‘उन्मूलन’ गरिने छैन। ईश्वरलाई ‘गद्दीच्युत’ गरिने छैन, धर्मलाई ‘जनताको हृदयबाट बलपूर्वक फालिने छैन।’…….धार्मिक संगठनहरु अनि त्यसको साथै चर्चहरु कुनै हिंसात्मक हमला बिनानै क्रमिकरुपले विलुप्त हुंदै जानेछन।(१३) प्रसिद्ध अमेरिकी लेखक स्यामुएल पी. हन्टिङ्गटनले आफ्नो चर्चित पुस्तक “सभ्यताको भिडन्त (The Clash of Civilization)” मा विश्वव्यापिरुपमा मानिसहरुले धार्मिक भावना परित्याग गर्दै गएको तथ्यगतरुपमा प्रस्तुत गरेकाछन्।
प्रकृति विज्ञानले ईश्वरले पृथ्वीको सिर्जना गरेको हो भन्ने जडविचारलाई मिथ्या (Myth) मा झारिदियो, खगोलशास्त्र र गणितशास्त्रले स्वर्गलाई केवल वायुमण्डलको संरचना मात्र अनि ताराहरु आकाशीय पिण्ड हुन भन्ने साबित गरिसकेकाछन्। पछिल्लो समयमा धर्म र ईश्वरको अस्तित्वका सम्बन्धमा स्पष्ट भौतिकवादी दृष्टिकोण प्रस्तुत गर्ने वैज्ञानिक वेलायती सैद्धान्तिक भौतिकशास्त्री, खगोलशास्त्री तथा लेखक स्टेफेन हकिङ्ग (१९४२-२०१८) रहेकाछन। हकिङ्गले विज्ञानले ईश्वरलाई अनावश्यक बनाउने र आफुलाई वैयक्तिक ईश्वरमा विश्वास नरहेको बताएका थिए। लियोनार्ड म्लोडिनोको सहलेखन रहेको उनको लोकप्रिय विज्ञान पुस्तक “द ग्रान्ड डिजाइन”-(२०१०) प्रकाशित भएपछि क्रमविकासवादी जीव वैज्ञानिक एवम् नास्तिकवादका वकालतकर्ता डाउकिन्सले हकिङ्गको अडानलाई स्वागत गरे र भने कि डार्विनवादले ईश्वरलाई जीवविज्ञान बाट गलहत्याएर निकाल्यो तर भौतिक विज्ञान एकदमै अनिश्चित रहेको थियो। अहिले आएर हकिङ्गले मरासन्न बिमारीलई मृत्युदण्ड दिइरहेकाछन।
पाद टिप्पणीहरु
1. Engels, Fredrich, Anti-Duhring, in Karl Marx/Fredrich Engels, Collected Works Volume-25, Page-300/301, Progress Publishers Moscow-1987.
2. Lenin, V. I., Socialism and Religion, in Lenin Collected Works Volume-10, Page-87, Fourth Printing-1978.
4. Feuerbach, Ludwig, The Essence of Christianity,
www.marxists.org Marxist Internet Archive.
5. Lenin, V. I., To Maxim Gorky, in Lenin Collected Works Volume-35, Page-128, Progress Publishers Moscow, Third Printing-1976.
6. Marx, Karl, Contribution to the Critique of Hegel’s Philosophy of Law, in Karl Marx/Frederick Engels Collected Works Volume-03, Page-175, Progress Publishers Moscow, First Printing-1975.
7. Huntington, Samuel, P., The Class of Civilizations and The Remaking of New World Order, Published by the Penguine Group, Penguins Books India Pvt. Ltd. 11 Community Centre, Panchsheel Park, New Delhi 110 017, India.
8. Bebel, August, The Future of Religion, Society of the Future, Page-98, Progress Publishers, Moscow, Second Printing-1976.
9. Lenin, V. I., The Attitude of the Workers’ Party to Religion, in Lenin Collected Works Volume-Page-405/06, Progress Publishers, Moscow, Third Printing-1977.
10. Marx, Karl, On the Jewish Question, in Karl Marx/Frederick Engels, Volume-03, Page-162, Progress Publishers, Moscow, First Printing-1975.
11. Lenin, V. I., Socialism and Religion, in Lenin Collected Works, Volume-10, Progress Publishers, Moscow, Fourth Printing-1978.
12. Lenin, V. I., The Attitude of the Workers’ Party to Religion, Lenin, Collected Works Volume-15, Page-408/09, Progress Publishers, Moscow, Fourth Printing-1978.
13. Bebel, August, The Future of Religion, Society of the Future, Page-97, Progress Publishers, Moscow, Second Printing-1976.
सन्दर्भ सामाग्रीहरु
1. Afanasyev V. G., Marxist Philosophy, Progress Publishers, Moscow, Fourth Revised Edition-1980.
2. Berbeshkinna, Z., Yakovllevva, L., Zerkin, D., Historical Materialism, Progress Publishers, Moscow-1985
3. Brodov, V., Indian Philosophy in Modern Times, Progress Publishers, Moscow, Second Printing-1988.
4. Dictionary of Philosophy, Progress Publishers, Moscow, Second Revised Edition-1984.
5. Hawking, Stephen, M The Grand Design, Mlodinow, Leonard, Bantham Books Publishers-2010.
6. Tokarev, Sergei: History of Religion, Progress Publishers, Moscow-1989.
7. Zotov, V., How to Study Historical Materialism, Progress Publishers, Moscow-1988.
9. www.wikipedie, The Free Encyclopedia.
10. मिश्र, सच्चिदानन्द, डा., ईश्वर मरचुका है, उत्सर्ग प्रकाशन, एस. 17/240, वाराणसी-221002।
11. वैद्य, मोहन ‘किरण’, हिमाली दर्शन, शमी सित्य प्रकाशन/साझा प्रकाशन, दोस्रो संस्करण-२०७६।
12. शास्त्री, रजनीकान्त ज्योतिषाचार्य, हिन्दू जातिका उत्थान और पतन, किताब महल, 22-A, सरोजनी नायडू मार्ग, इलाहवाद, प्रस्तुत संस्करण-२०१६।
13. सांकृत्यायन, राहुल, दर्शन दिग्दर्शन, प्रकाशक: किताब महल, 22-A, सरोजनी नायडू मार्ग, इलाहवाद, प्रस्तुत संस्करण-१९९४।