सिलिण्डर विष्फोट भएर घाईते सांसद भण्डारी र उहाँको आमाको अवस्था गम्भीर

सिलिण्डर विष्फोट भएर घाईते सांसद भण्डारी र उहाँको आमाको अवस्था गम्भीर

वीरगन्ज, ४ फागुन । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए ।

उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

उहाँका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ । आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकारले बताउनुभयो ।

आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उहाँले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिनुभयो ।