भेरोसिल खोप छुटेकाहरुलाई आज र भोली लाईदै, कोभिशिल्ड लगाएकालाई एस्ट्राजेनेका भोलीदेखि लाउने
वीरगन्ज, २४ साउन । कोभिड विरुद्धको खोप लगाउन छुटेका वा बाँकी रहेका ५५ वर्ष र त्यो भन्दा माथिको उमेर समुहका नागरिकका लागि आज देखि २ दिन खोप कार्यक्रम सन्चालन गरिएको छ । वीरगन्ज महानगरपालिकाले यसअघि सन्चालन गरिएको खोप कार्यक्रममा भेरोसेल खोप लगाउन छुटेका ५५ वर्ष भन्दा माथिको उमेर समुहका नागरिकका लागि आज र भोली गरी दुई दिन पहिलो डोजको खोप लगाउने कार्यक्रम सन्चालन गर्न लागिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
यसअघि भेरोसेलको खोपको पहिलो डोज लगाउन छुटेका ५५ वर्ष भन्दा माथिको उमेर समुहका नागरिक, शिक्षक, प्राध्यापक, शिक्षण संस्थाका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, विदेश जाने नागरिकले आ आफनो वडाको स्वास्थ्य संस्था र खोप केन्द्रमा आज र भोली खोप लगाउन सक्ने महानगरपालिकाको जनस्वास्वास्थ्य निरिक्षक रितेश जयसवालले बताउनुभयो । खोप लगाउन खोप केन्द्रमा जाँदा नागरिकता वा उमेर खुल्ने पहिचान पत्र अनिवार्य लिएर जान पनि वीरगन्ज महानगरपालिकाले अनुरोध गरेको छ ।
यस्तै सरकारले सोमबारदेखि अस्ट्राजेनेका खोप अभियान सुरु गर्ने भएको छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई अस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जानकारी दिनुभयो ।
खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पखाईमा रहेका ६५ वर्ष वा सो भन्दा माथिका नागरिकलाई खोप लगाउने विभागको तयारी छ । विभागकाअनुसार दोस्रो मात्रा दिई बाँकी रहेको खोप विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने छ । भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ । सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताइएको छ ।
जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख १३ हजार ४२० डोज खोप शनिवार काठमाडौं आइपुगेको छ भने थप खोप आज आउँदैछ ।