कोरोना विरुद्धको दोश्रो डोज खोप आजदेखि लगाईदै
वीरगन्ज, ७ बैशाख । कोरोना भाईरस (कोभिड–१९) विरुद्धको दोश्रो डोजको खोप आजदेखि देशभर लगाईदै छ । कोरोना महामारीको संकटमा अग्रपंक्तिमा खटिने, चिकित्क, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी, सरसफाईकर्मी, कर्मचारीहरुले दोश्रो डोजको खोप लगाउन पाउने छन् ।
पर्सामा पनि आजदेखि सबै पालिकाहरुमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसपटक वडाका स्वास्थ्य चौकीहरुबाट नै कोभिशिल्डको खोप लगाउने सुविधा उपलब्ध गराईएको छ । दोश्रो डोजको लागि पर्सामा ३९० भाईल कोभिशिल्ड खोप आएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर प्रसाद चौरसियाले जानकारी दिनुभयो ।
यसअघि पर्सामा नौ हजार पाँचसय जनालाई कोभिशिल्ड लगाईएको थियो । उहाँका अनुसार एक भाईलमा १० डोज खोप लगाउन सकिन्छ । खोप लगाउनका लागि यसअघि खोप लगाउँदा दिईएको कार्ड देखाएर मात्रै खोप लगाउन पाईने उहाँले बताउनुभयो ।