जसपाबाट टिकट नपाएका अधिकांश स्वतन्त्र र अन्यदलबाट उम्मेदवार बने
वीरगन्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टीबाट टिकट नपाएपछि जसपा पर्साका अधिकांश नेताहरुले स्वतन्त्र र अन्य पार्टीबाट उम्मेदवारी दिएका छन् । पर्साको प्रतिनिधिसभा प्रदेशसभामा दावेदार बनेका जसपाका नेताहरुको टिकट एमालेसँग जसपाले तालमेल गरेपछि खोसिएको छ ।
पर्सा क्षेत्र नम्बर १ मा जसपाका प्रदीप यादव र प्रदेशसभा (ख) मा मोहम्मद लालाबाबु राउत गद्दीले टिकट पाएका छन् । टिकट नपाएपछि निवर्तमान प्रदेश सांसद जन्नत अन्सारी र करिमा बेगमले स्वतन्त्र भन्दै उम्मेदवारी दिएका छन् । आफ्नो क्षेत्रका मतदाताले पुनः निर्वाचनमा उम्मेदवार बन्न सुझाव दिएकोले पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनीहरुको भनाई छ ।
करिमा बेगमले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पार्टीले टिकट नदिएपछि उहाँले पर्सा क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको हो । बेगम मधेस आन्दोलनकी चर्चित नेतृ मात्रै होईन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएकी बेगम तत्कालिन सरकारको कृषि राज्यमन्त्री पनि हुनुभएको थियो ।
कृषि राज्यमन्त्री भएको बेलामा तत्कालिन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीले पूरानो सवारी साधन पठाएको भन्दै आक्रोशित भएर प्रमुख जिल्ला अधिकारी भण्डारीलाई हातपात गरेर विवादमा आउनु भएको थियो । उहाँ २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्नुभएको थियो ।
आइतबार प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गर्न आउनु भएकी बेगमले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले आफूलाई टिकट नदिएपछि जनताको चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । उहाँले मधेश विरोधी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएको बताउनुभयो ।
उहाँले उपेन्द्र यादव जनताको सर्वोच्च संस्था संसद विघटन गरेको दलसँग आफ्नो सिट सुरक्षित राख्न सौदाबाजी गरेको भन्दै त्यसको जवाफ मधेसी जनताले दिने बताउनुभयो । पर्सामा जसपाका अधिकांश नेताहरुले स्वतन्त्र र अन्य दलबाट समेत उम्मेदवारी दिएपछि एमाले जसपा गठबन्धन संकटमा पर्ने देखिएको छ ।
जसपाका नेता प्रदीप यादव र लालबाबु राउत गद्दी निकटका नेताहरुले नै बढी स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को (क) र (ख) मा जसपाका नेता शिव कुमार साह र गौरीशंकर साहले पूर्व डिआईजी रमेश खरेलको नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका छन् ।
एमालेसँग गठबन्धन गरेको जसपाले प्रदेशसभामा पुल निर्माणमा कालोसूचीमा परेको पप्पु कन्सट्रक्सनका पूर्व संचालक एवं यसअघि निलम्बनमा परेका सांसद हरिनारायण रौनियारको छोरी डाक्टर मधु रौनियारलाई जसपाले टिकट दिएपछि शिव कुमार साहले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिनुभएको हो ।
त्यस्तै जसपाबाट टिकट पाउने आशले पार्टी कार्यालय नै आफ्नो घरमा राख्न दिनुभएका गौरी शंकर साहले पनि टिकट नपाएपछि नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर ३ मा नेपाल सुशासन पार्टीबाट पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले उम्मेदवारी दिनुभएको छ ।
यादव यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाल संघीय समाजवादी पार्टीबाट पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकामा आफ्नो उम्मेदवार जिताएर बलियो पकड बनाएको नेताका रुपमा चिनिनु हुन्छ । यद्यपि प्रतिनिधिसभा निर्वाचनमा पनि उहाँ पराजित हुनु भएको थियो । पर्सा क्षेत्र नम्बर १ को (ख) र २ को –ख) मा पनि जसपाकै युवा नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
१ को (ख) मा रुपेशमान सिंह श्रेष्ठ र २ को (ख) मा युवा नेता मूकेश द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका पर्सामा अनुसार स्वतन्त्रमा मात्रै ८२ जनाको उम्मेदवारी परेको छ ।