पर्साको क्षेत्र नम्बर १ मा राप्रपाबाट किरणमान डंगोलको मनोनयन दर्ता 

पर्साको क्षेत्र नम्बर १ मा राप्रपाबाट किरणमान डंगोलको मनोनयन दर्ता 

वीरगन्ज, २४ असोज । राजेन्द्र लिंगदेनको नेतृत्वपछि शक्ति सञ्चय गर्दै आएको राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ताका दिन शक्ति प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका पूराना नेता किरणमान डंगोलको राप्रपा प्रवेशपछि पर्सामा संगठन बलियो बन्दै गएको राप्रपाले असोज २३ गते आईतबार उम्मेदवार मनोनयन दर्ता गरेको दिन ठूलो संख्यामा समर्थक जुटाएको थियो ।

वीरगन्जको माईस्थानदेखि मनोनयन दर्ता स्थल निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको कार्यालयसम्म जुलुश नै प्रदर्शन गरेको थियो । किरणमान डंगोलले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मदवारी दर्ता गराउनु भएको छ । राप्रपाले प्रदेशसभामा पूराना कांग्रेस नेता परमानन्द साहलाई पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा नरेश साहलाई उम्मेदवार बनाएको छ । यसअघि शक्ति क्षीण भएको राप्रपाको अहिले भने बिस्तारै शक्ति बढ्दै गएको छ । आईतबार उम्मेदवार मनोनयन दर्ता गर्न आउने भीडले पनि राप्रपाको शक्ति पुनःआर्जन गर्दै गईरहेको पुष्टि गरेको छ । नेपाली कांग्रेसका सादगी नेता तथा पूर्व प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भट्टराईसँगै बसेर काम गरेका किराणमान डंगोलको व्यक्तिगत छविले पनि राप्रपामा मतदाताहरुको सहानुभूति हुने अपेक्षा गरिएको छ ।

किरणमान डंगोल राजेन्द्र बहादुर अमात्यसँग नजिक रहेर काम गरिसकेका व्यक्ति पनि हुन् । उनी तत्कालिन जिल्ला विकास समितिको आदिवासी जिल्ला समन्वय समितिको उपाध्यक्ष समेत भईसकेका छन् । खेलकुद र संगीतमा अब्बल रहेका किरणमान डंगोल पूर्व राजपरिवारसँग पनि नजिक रहेर पनि काम गर्नुभएको छ ।

राजपरिवारमा कुनै उत्सवहरु हुँदा गीत गाउनका लागि उहाँलाई नै राजाहरुले बोलाउने गर्थे । प्रजातन्त्र स्थापनापछि नेपाली कांग्रेस निकट रहनुभएका डंगोल पूराना नेता राजकृष्ण अमात्यहरुको समितिमा रहेर समेत काम गर्नुभएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश रिजाल भन्दापनि पहिले समितिमा रहेर काम गर्नुभएका डंगोलको कांग्रेसका सबै नेताहरुसँग राम्रो सम्बन्ध रहेको छ ।

तर, लामो समयसम्म कांग्रेसमा रहेपनि नेपाली कांग्रेसले विपीको विचारलाई छोड्दै गएकोले आफूले कांग्रेस छोडेको डंगोलको जिकिर छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले ‘भ्रष्टाचार गर्नु भनेको आप्mनो आमाको रगत खानु सरह हो’ भन्ने नाराले आफूलाई प्रभावित गरेकोले देशको भ्रष्टाचार अन्त्यका लागि पनि आप्mनो उम्मेदवारी रहेको डंगोलले बताउनुभयो ।

अहिलेसम्म धेरै नेताहरुलाई हेरिसकिएको र अब पर्सा क्षेत्र नम्बर १ का मतदाताले नयाँ व्यक्तिको विकल्प खोजी रहेकोले विकल्पको रुपमा आफू आएको पनि उहाँले बताउनुभयो । नेकपा एमालेसँग तालमेल गरेको राप्रपाले पर्सामा भने एक्लै उम्मेदवारी दिएको छ ।