काठ तस्करीमा संलग्न सामुदायिक वनका उपाध्यक्ष पक्राउ
कृष्णमोहन साह
सेंढवा, २४ मंसिर । पर्साको जीराभवानी गाउँपालिकामा नेपाली सेनाले छापामारेर काठ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको मध्यवर्ती क्षेत्रमा पर्ने जीराभवानी गाउँपालिका वडा नम्बर १ पिपरामा रहेको जय माँ जगदम्बा सामुदायिक बनको उपाध्यक्ष रामप्रबेश महतो कमकरलाई अवैध काठ सहित पक्राउ गरेको हो ।
पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाथार्थ खटिएका सिद्दिबक्स गणका नेपाली सेनाको टोलीले उनको घरमा छापामारी गरि काठ सहित उनलाई पक्राउ गरेको हो । उपाध्यक्ष महतोले बिना इजाजत आफ्नै सामुदायिक बनबाट सिसौको रुख कटान गरि आफ्नै घर बनाउन घरमा ल्याएर राखेको अवस्थामा तीन थान सिसौको काठ सहित उनलार्इ पक्राउ गरिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पक्राउ परेका उपाध्यक्ष महतोलाई काठ सहित पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा राखेर अनुसन्धान भईरहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिनुभयो ।
काठ सहित पक्राउ परेका कम्करलाई वन्यजन्तु संरक्षण ऐन अनुसारको कसुरमा एकलाख, एकबर्ष कैद तथा काठको परिमाणको दोब्बर बिगो जरिवाना हुनसक्ने प्रमुख संरक्षण अधिकृत डा.रामले बताउनुभयो ।