गौतम माविका विद्यार्थीहरुद्वारा विज्ञान प्रदर्शनी 

गौतम माविका विद्यार्थीहरुद्वारा विज्ञान प्रदर्शनी 

वीरगन्ज, २४ मंसिर । गौतम सेकेण्ड्री स्कुल प्रालिमा आज विज्ञान प्रदर्शनी गरिएको छ ।  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विज्ञानको विधिबाट निर्माण गरेका विभिन्न वस्तुहरुको प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो ।

विज्ञान प्रदर्शनीको उदघाटन गर्दै नगर प्रमुख सिंहले शिक्षा क्षेत्रको विकास र गुणस्तर सुधारका लागि महानगरपालिका तत्पर रहेको बताउनुभयो । उहाँले वीरगन्ज महानगरपालिकामा कम शुल्कमा गुणस्तरी शिक्षा प्रदान गर्ने उद्देश्यले नै अहिले महानगरपालिकाले वर्गीकरण तथा शुल्क निर्धारण गरेको बताउदै यसमा कोही अभिभावकहरुलाई समस्या भएको त्यसको विषयमा महानगरपालिकाको तर्फबाट गर्नुपर्ने पहलहरु गर्न तयार रहेको बताउनुभयो ।

वर्गीकरणको विषयमा अभिभावकहरुलाई केही भ्रमहरु पनि छर्ने काम गरिएको भन्दै त्यस्ता भ्रमबाट मुक्त हुन र वास्तविकता बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई नगर प्रमुख सिंहले आग्रह गर्नुभयो । विज्ञान प्रदर्शनीको अवलोकनपछि सहभागीहरुले विद्यार्थीहरुको रचनात्मक क्रियाकलापको उच्च प्रशंसा गरेका थिए ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले निर्माण गरेको समाग्री र उनीहरुले प्रदर्शनीमा गरेको व्याख्याले बौद्धिक स्तरको निकै विकास भएको पाईएको नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहले बताउनुभयो । उहाँले सानै कक्षाका विद्यार्थीहरुले विज्ञान सबन्धी सबै फर्मूलाहरुको मिहिन ढंगले व्याख्या गरेको पाईएको र यसले उनीहरुको भविष्यको उच्च शिक्षामा अभूदपूर्व क्षमताको विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै ओम नेशनल कलेजका निर्देशक डाक्टर लालबाबु यादवले विद्यालय तहमा नै विद्यार्थीहरुको विज्ञानप्रतिको चासो र रचनात्मक क्रियाकलाप क्षमता प्रशंसायोग्य भएको बताउनुभयो । विद्यालयका निर्देशक सोनम लामाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, एन–प्याब्सनका पर्सा अध्यक्ष राम श्रेष्ठ, वीरगन्ज कलेजका अध्यक्ष डा.दीपेन्द्र प्रसाद चौधरी, नेशनल इन्फोटेकका संचालक मनिष सिहं लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयमा गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने समूहका एकजनालाई निष्ट कलेज काठमाडौंले पूर्ण छात्रवृत्ति प्रदान गर्ने जानकारी गराएको विद्यालयका शिक्षक सौरभ प्रधानले बताउनुभयो । विद्यालयमा ४ सय भन्दा बढी विद्यार्थीहरुको ७३ वटा सामग्री प्रदर्शनीमा राखिएको थियो ।

विद्यालयका शिक्षक सौरभ प्रधानले संचालन गरेको थियो । भने, कार्यक्रमको बारेमा प्रकाश तथा स्वागत विद्यालयकी सहायक प्रिन्सिपल परीक्षा पिया लामाले गर्नुभएको थियो ।