बीपीसी कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा प्रशिक्षण आयोजना 

बीपीसी कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा प्रशिक्षण आयोजना 

वीरगन्ज, ११ असोज । वीरगन्ज पब्लिक कलेजले कक्षा ११ का विद्यार्थीहरुको लागि स्वागत तथा व्यक्ति विकास सम्बन्धि प्रशिक्षण आयोजना गरेको छ । एकहप्तासम्म लगातार आयोजना गरिएको प्रशीक्षण सोमबार पनि जारी रहेको छ ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनमा उत्प्रेरणा जगाउने उद्देश्यले आयोजना गरेको व्यत्तित्व विकास तालिममा विभिन्न क्षेत्रका व्यक्तिहरुका अनुभवहरु मार्फत विद्यार्थीहरुलाई उत्प्रेरणा जगाएको छ ।

सोमबार कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीहरुले पाठ्यक्रम बाहेकका व्यवहारिक सिकाईहरु पनि सिक्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले शिक्षाको गुणस्तरको कलेजमा पढाएर मात्रै नहुने बताउदै त्यसको लागि विद्यार्थी स्वयं आफैले पनि अनुशासन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा राजनीतिक प्रभावका कारणले अझैपनि विकृतिहरु रहेकोले त्यस्ता विकृतिहरु हटाउनका लागि विद्यार्थीहरुले पनि आफ्नो भविष्य नबिगार्ने कलेजको छनोट गर्नुपर्ने बताउनुभयो ।

महानगरपालिका भित्र ४६ वटा कलेजहरु रहेको जानकारी दिदै उहाँले त्यसमध्य अधिकांश कलेजहरुमा शैक्षिक विकृति देखिएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बञ्जारा,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ का इन्चार्ज एवं कारोबार दैनिकका प्रदेश व्यूरो नीरज पिठाकोटे मगर, सञ्चारकर्मी उज्जवल घिमिरे, अवकास प्राप्त सहप्राध्यापक शम्भु सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख हरि तुलाधार, सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, कोअर्डिनेटर वासुदेवलाल कर्ण लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।