गौतम माविले आयोजना गरेको शिविरमा ४७८ जनाको आँखा तथा स्वास्थ्य परीक्षण
वीरगन्ज, २५ भदौ । शैक्षिक क्षेत्रमा अब्बल गौतम माध्यामिक विद्यालयले सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि सक्रिय भएको छ । गौतम माध्यामिक विद्यालयको आयोजना तथा रहवर फाउन्डेसन, माट्रिका आई सेन्टर र नेपाल फार्मास्युटिकल्स ल्याब प्रा.लि.को सहयोगमा शनिबारबार आँखा तथा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
रहवर फाउन्डेसनद्वारा सञ्चालित वीरगञ्ज –३१, मिलनचोकमा रहेको रहवर केयर सेन्टरमा आयोजना गरेको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४७८ जनाकोआँखा परीक्षण गरिएको छ। बिहान १० बजेदेखि सञ्चालन भएको शिविर दिउँसो ३ बजेसम्म चलेको थियो ।
माट्रिका आइ फाउन्डेसनका निर्देशक डा. किशोर प्रधानको प्रमुख आतिथ्यता र रहवर फाउन्डेसनका निर्देशक रहवर अंसारीको सभापतित्वमा सम्पन्न शिविरमा औषधिको आवश्यकता परेका बिरामीहरुलाई आवश्यक औषधि समेत वितरण गरिएको थियो। शिविरमा आँखा परीक्षण गरिएकाहरु मध्य मोतियाविन्दु फेला परेकाहरुको माट्रिका आई फाउण्डेशनमा अपरेशन गर्ने भएको छ ।
एकदिने आँखा तथा स्वास्थ्य शिविरमा कक्षा ९ मा अध्ययनरत छात्रछात्राहरुले स्वयंसेवको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरुलाई विद्यालयमा अध्ययन गराउने मात्रै होईन समाजका विभिन्न पक्षहरुको बारेमा जानकारी र अनुभव बटुलोस भन्ने अभिप्रायले शिविरको आयोजना गरेको कार्यक्रममा गौतम मा.वि.का निर्देशक सोनाम लामाले बताउनुभयो ।
आगामी दिनहरुमा यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरिने र यस्ता कार्यक्रमहरुमा विद्यार्थीहरुलाई सहभागी गराएर उनीहरुमा सानैदेखि सकारात्मक सोच विकास गरी समाज सेवाको भावना जाग्रित गर्न सकिने निर्देशक लामाको भनाइ थियो । यसैगरी समाजसेवी तथा रहवर फाउन्डेसनका निर्देशक रहवर अंसारीले गरिब तथा असहायको लागि रहवर केयर सञ्चालन गरेको बताउनुभयो।
परोपकारी सेवामा विद्यार्थीहरुलाई सहभागी गराउँदा उनीहरुले नैतिकताको पाठ सिक्ने निर्देशक अंसारीको भनाइ थियो। शिक्षक सौरज प्रधानले गौतम माविको तर्फबाट सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।