वीरगन्ज महानगरपालिकाले शुरु गर्‍यो ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ 

वीरगन्ज महानगरपालिकाले शुरु गर्‍यो ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ 

वीरगन्ज, २६ भदौ । वीरगन्ज महानगरपालिकाले वीरगन्ज महानगरपालिकामा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको वडा नम्बर–३० लालपर्साबाट ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु गरेको हो ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले निर्वाचनमा बेला घोषणापत्रमा उल्लेख गरे अनुसारको कार्यक्रमलाई शुरुवात गरिएको नगर प्रमुख सिंहले बताउनुभयो । वीरगञ्ज महानगरवासीलाई स्वस्थ्य र निरोगी राख्ने उद्देश्यले सेवा शुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहको भनाई छ ।

एम्बुलेन्स र चिकित्सक सहितको २५ जना स्वास्थ्यकर्मीको टोलीले महानगरपालिकाका ३२ वटै वडाका नागरिकलाई स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने महानगर प्रमुख सिंहले दावी गर्नुभयो । गर्भवती महिलाको परीक्षण, प्याथोलोजी ल्याब, भिडियो एक्सरे, जेनरल परीक्षण, ईसिजी सेवा सहित निशुल्क औषधी समेत वितरण गरिने महानगरपालिकाले जनाएको छ ।

निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले पनि कोरोना महामारीको समयमा वृद्धवृद्धा तथा असहाय व्यक्तिहरुलाई घरदैलोमा नै स्वास्थ्य सेवा पुर्‍याउन मेयर स्वास्थ्य घरदैलो कार्यक्रम शुरु गर्नुभएको थियो । वर्तमान नगर प्रमुख सिंहले भने महानगरका आम नागरिक र गर्भवती महिलाहरुलाई प्राथामिकतामा राखेर सेवा शुरु गर्नुभएको छ ।

यो सेवाले महानगर भएरपनि सडकको सहज पहुँच र सुविधा नभएको वडाका नागरिक लाभान्वित हुने विश्वास गरिएको । महानगरपालिकाको आधाभाग अझै स्तरीय सडकको पहुँच नहुँदा गर्भवती, अशक्त र असहायहरुलाई महानगरको मुकामसम्म आएर सेवा लिन असहज हुने गरेको छ । यसलाई ध्यानमा राखेर महानगरपालिकाले सेवा शुरु गरेको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।