उद्योगमन्त्री रिजाललाई वीरगन्ज महानगरप्रमुखद्वारा सम्मान
वीरगन्ज, ७ बैशाख । वीरगञ्ज महानगरपालिकाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालाई सम्मान गरेको छ । मन्त्री नियुक्त भएपछि गृहजिल्ला आउनुभएका रिजाललाई महानगर प्रमुख राजेशमान सिंहले आज आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गर्नुभएको हो ।
मन्त्री रिजालाई सम्मान गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताउनुभयो । रोजगारी बृद्धिका लागि उद्योग ग्राम बनाउन गृहकार्य भइरहेको भन्दै उहाँले आवश्यक बजेटको व्यवस्था मिलाइदिन पनि आग्रह गर्नुभयो ।
वीरगञ्ज औद्योगिक तथा आर्थिक नगर रहे पनि बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन महानगर प्रमुख सिंहले आग्रह गर्नुभयो । नवनियुक्त मन्त्री रिजालले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विगतमा आमाले नदीमा छठका बेला पुजा गर्नुभएको स्मरण गर्दै मन्त्री रिजालले अहिले नदीको पानी धेरै कालो देखिने र दुर्गन्धित पनि भएकोले यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयासको सराहना गर्नुभयो । मन्त्रालयबाट आफूले गर्नु पर्ने सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिँदै सचिवहरुसँगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताउनुभयो । सम्मान कार्यक्रममा महानगर उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।