महानगर प्रमुख सरावगीद्वारा छात्रावास भवनको उदघाटन
वीरगन्ज, २१ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अपांगता भएकाहरुको लागि निर्माण गरिएको छात्रावासको उदघाटन गर्नुभएको छ । वीरगंज माहानगरपालिका वडा नम्बर १३ राधेमाईमा अपांगताहरुको लागि संचालित विद्यालयमा नगरस्तरीय बजेटबाट निर्माण सम्पन्न भएको छात्रावास भवनको आज नगरप्रमुख बिजय कुमार सरावगीले उदघाटन गर्नु भएको हो ।
छात्रावास भवनको उदघाटन गर्दै नगर प्रमुख सरावगीले फरक क्षमता भएका बालबालिकाहरुको लागि स्थानीय सरकारले जस्तोसुकै समस्यामा पनि सधैं साथ रहने बताउनुभयो । उहाँले शारिरिक रुपमा फरक क्षमता भएपनि उनीहरुमा पनि उत्तिकै मानसिक क्षमता हुने भएकोले त्यस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।
अहिले बहिराहरुको लागि मात्रै संचालनमा रहेको विद्यालयलाई पूर्ण अपांगमैत्री वातावरणमा शिक्षण सिकाई प्रदान गरेर अन्य अपांगता भएका व्यक्तिहरुको लागि पनि विद्यालयमा व्यावस्था गरिने बताउनुभयो । त्यसको लागि महानगरपालिकाले आगामी बर्षमा छुट्टै बजेटको पनि व्यावस्था गर्ने आश्वासन दिनुभयो ।
वीरगन्ज महानगरपालिकाको १५ लाख रुपैंया बजेटमा निर्माण शुरु भएको दुईवटा स्नान कक्ष, दुईवटा भान्सा घर सहितको छात्रावास भवनमा अहिले थप निर्माण कार्यहरु पनि भईरहेको र झण्डै २५ लाख रुपैंया लागत लाग्ने अनुमान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अजय साहले बताउनुभयो ।
पाँच जना कान नसुन्ने विद्यार्थीहरुबाट पठन पाठन गरिएको विद्यालयमा अहिले ५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । छात्रावास निर्माणपछि विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्ने अनुमान गरिएको साहले बताउनुभयो ।
अहिले विद्यालयमा बस्ने खाने व्यावस्था नहुँदा कतिपय विद्यार्थीहरु आउन नसकेका र छात्रावास भवन निर्माण भएपछि टाढा टाढाका विद्यार्थीहरु पनि आउने भएकोले विद्यार्थीको संख्या बढ्ने उहाँको दावी छ ।