सीमा क्षेत्रमा हुने अपराध र तस्करीको सञ्जाल तोड्दै सशस्त्र प्रहरी

स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैंया बरामद

सीमा क्षेत्रमा हुने अपराध र तस्करीको सञ्जाल तोड्दै सशस्त्र प्रहरी

वीरगन्ज, २२ पुस । सशस्त्र प्रहरी सीमाक्षेत्रमा हुने गरेका आपराधिक गतिविधि र तस्करीको सञ्जाल तोड्न सक्रिय भएको छ । सीमाक्षेत्रमा हुने चोरी, तस्करी, अवैध कारोबार तथा हतियार ओसार पसार लगायतका आपराधिक गतिविधि सशस्त्र प्रहरीको सक्रियतामा नियन्त्रणमा आउन थालेको छ ।

सशस्त्र प्रहरी बल प्रदेश २ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरको आक्रामक कारवाहीले ठूला सेटिङमा हुने गरेको तस्करीको सञ्जाल तोडिन थालेको छ । बिहीबार मात्रै सशस्त्र प्रहरीले धनुषाको नगराईनबाट स्रोत खुल्न नसकेको ३८ लाख ३५ हजार रुपैंया नेपाली रकम सहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल प्रदेश २ मुख्यालय छिन्नमस्ता बाहिनीबाट गएको सशस्त्र प्रहरी र नगराईन विओपीको सशस्त्र प्रहरीको संयुक्त टोलीले धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ सिंगर जोरा बस्ने बर्ष २५ का अमित कुमार यादवलाई स्रोत खुल्न नसकेको रकम सहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा २–०२–००१ प ००४८८ नम्बरको अपाचे मोटरसाईकलमा आउदै गरेका यादवलाई शंका लागेर चेकजाँच गर्दा उनी सवार मोटरसाईकलको टंकी भित्र लुकाई छिपाई ल्याएको रकम फेला परेको सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिनुभयो ।

स्रोत नखुलेको मोटरसाईकल सहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट नागराईनमा राखिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले  बताउनुभयो ।

प्रदेश २ मा हुने गरेका विभिन्न आपराधिक गतिविधि तथा चोरी तस्करीका घटनाको सुक्ष्म अध्ययन र विश्लेष्ण गर्दा खासगरी सामाजिक विकासमा कमजोर रहेको प्रदेश २ मा बेरोजगारीका कारणले युवाहरु आपराधिक गतिविधिमा संलग्न हुने गरेको

पाईएकोले यसको न्यूनीकरणका लागि सामाजिक विकास अन्तर्गत जनचेतना जगाउने र सीपमुलक तालिमको आयोजना गरेर रोजगारीको सृजना गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले बेरोजगार बढेमा अपराध पनि बढ्ने भएकोले यसको न्यूनिकरणमा स्थानीय सरकारहरुले युवा लक्षित स्वरोजगार कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।