बगही र इनरुवा गाउँ जोड्ने भाँसिएको पुल निर्माण गर्न नगरप्रमुखको निर्देशन 

बगही र इनरुवा गाउँ जोड्ने भाँसिएको पुल निर्माण गर्न नगरप्रमुखको निर्देशन 

वीरगन्ज, २४ जेठ । वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगही र इनरुवा गाउँ जोड्ने पुल निर्माणको कार्य १ साताभित्र शुरु गर्न नगरप्रमुख विजय कुमार सरावगीले निर्देशन दिनुभएको छ ।  केही दिन अघि गिट्टी लोड गरिएको टिप्पर आवतजावत गर्ने क्रममा पुरानो पुल भाँसिएर दुर्घटना भएको थियो ।

बगही र इनरुवा जोड्ने पुल भाँसिएपछि सो क्षेत्र भएर आवतजावत गर्ने पैदल यात्रुका साथै मोटरसाइकल, रिक्सा तथा अन्य सवारी साधनलाई पनि ओहोरदोहोर गर्न समस्या भएको थियो । सोही समस्यालाई मध्यनजर गर्दै स्थानीयले नगरप्रमुख सरावगीलाई पुल निर्माणका शुरु गर्न आग्रह गर्नुभएको थियो ।

वीरगन्ज महानगरवासीको अभिभावकको भूमिकामा रहेका सरावगीले आफ्नो अभिभावकत्व बहन गर्दै १ साताभित्र पुल निर्माणको काम थालनी गरी आवतजावत सुचारु गराउन पूर्वाधार महाशाखालाई निर्देशन  दिनुभएको हो । सोमबार बिहान भाँसिएको पुलको स्थलगत निरीक्षण गर्दै नगरप्रमुख सरावगीले पुल निर्माणको काम छिटै शुरु हुने स्थानीयलाई विश्वास दिलाउनु भएको छ  ।

पञ्चायती व्यवस्थाको समयमा निर्मित पुल जीर्ण भएको थियो । सोही पुल निर्माणका लागि महानगर प्रमुख सरावगीले निर्देशन दिनुभएको हो ।