संविधान दिवसमा वीरगन्ज कारागारबाट २४ जना कैदीबन्दी रिहा
वीरगन्ज, ३ असोज । संविधान दिवसको अवसरमा वीरगन्ज कारागारबाट एकजना महिला सहित २४ जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा कैद सजाय भुत्तान गरिरहेका २४ जना कैदीबन्दीलाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले माफी दिएपछि वीरगन्ज कारागारबाट २४ जना कैदीबन्दी रिहा भएका हुन् ।
आईतबार रिहा हुनेहरु मध्य ५ जना सवारी ज्यान मुद्दा, ४ जना चोरी मुद्दाका, ७ जना कर्तव्य ज्यान मुद्दाका, ज्यान मार्ने उद्योगका २, कर्तव्य ज्यान सम्बन्धी नै १ जना रिहा भएका हुन् । त्यस्तै बहुविवाह मुद्दामा १ जना, नकवजनी चोरीमा २ जना गरी २४ जना कैदीबन्दीलाई रिहा गरिएको हो ।
५० प्रतिशतदेखि ८० प्रतिशतसम्म कैद भुक्तान गरिसकेका र आँचरण सुधार भएका कैदीबन्दीहरुलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा गरिएको वीरगन्ज कारागारका प्रमुख जेलर कृष्ण गैरेले जानकारी दिनुभयो ।
रिहा भएका कैदीबन्दीहरुलाई आवश्यक प्रकृया पूरा गरेर आफन्तको जिम्मा लगाईएको उहाँले बताउनुभयो ।