भन्सार छलीको औषधी बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
वीरगन्ज, २७ भदौ । वीरगन्जको एकीकृत भन्सार जाँचचौकीबाट पटक पटक अवैध रुपमा सामानहरु पास हुने गरेको भेटिएको छ । शनिबार सशस्त्र प्रहरीले करिब २६ लाख रुपैंया मूल्य बराबरको औषधि लगायतका किराना सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएपछि एकीकृत भन्सार जाँच चौकीबाट नै अवैध क्रियाकलाप हुने गरेको तथ्य बाहिर आएको हो ।
सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वार्टरबाट गस्तीमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं सडकखण्डमा विल विजक भन्दा फरक सामान भन्सार छली गरी लोड गरेर गईरहेको ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले
ना २ ख ९३५७ नम्बरको मालवाहक ट्रकमा भन्सार छलिका सामान लोड रहेको सूचनाको आधारमा गएको गस्ती टोलीले ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा बिलविजक भन्दा फरक र भन्सार छलि गरेको २५ लाख९५ हजार ३ सय ७६ रुपैंयाको औषधि तथा
किराना सामान बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । बरामद गरेको सामान मूल्य र ट्रकको अन्दाजी मूल्य २५ लाख निर्धारण गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।