पर्सा प्रहरीले नियन्त्रणमा लिएको ट्रक राजस्व अनुसन्धानमा बुझायो

सुरक्षा निकायबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि बुझाईने सवारी सधानहरुमा बिलविजक भन्दा बढी सामान हुन्छ की हुदैन भन्ने जानकारी राजस्व अनुसन्धान  कार्यालय पथलैयाले सार्वजनिक गर्ने गरेको छैन ।

पर्सा प्रहरीले नियन्त्रणमा लिएको ट्रक राजस्व अनुसन्धानमा बुझायो

वीरगन्ज, २० असार । पर्सा प्रहरीले बिलविजक भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया, बारालाई बुझाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसा ४ः३० बजे पर्साको  वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा चोक स्थित सडकखण्डबाट बिल विजक भन्दा बढी स्टेशनरीका सामनहरु बोकेको आशंकामा ना.२ ख ७३११ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो ।

माल बाहक ट्रक ड्राईपोर्टबाट वीरगञ्जतर्फ ल्याउदै गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा उक्त ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विलविजक भन्दा बढी मालबस्तुहरू फेला परेको र विल बिजक शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको ट्रकको सामान चेकजाँच गर्दा ट्रक सहित ५९ लाख ८३ हजार ४२ रुपैंया मूल्यांकन कायम गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

प्रहरीले बिलविजक शंकास्पद देखिएका मालकवाहक सवारी साधनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएपनि त्यहाँबाट कस्तो अनुसन्धान हुन्छ ? कति कारवाहीमा पर्छन् भन्ने विवरण सार्वजनिक हुने गरेको छैन ।

सुरक्षा निकायबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि बुझाईने सवारी सधानहरुमा बिलविजक भन्दा बढी सामान हुन्छ की हुदैन भन्ने पनि जानकारी राजस्व अनुसन्धान  कार्यालय पथलैयाले सार्वजनिक गर्ने गरेको छैन ।

यसअघि पनि वीरगन्जका ढुवानी व्यावसायीहरुले लोड गराउने मालवाहक ट्रकहरुको  बिलविजक शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाउने गरेको छ । त्यसको अनुसन्धानपछिको अन्तिम नतिजा के हुन्छ भन्ने प्रहरीलाई समेत जानकारी दिने गरिएको छैन ।

यसले अनावश्यक दुःख दिने गरेको भनेर ढुवानी व्यावसायीहरुले प्रहरीलाई लगाउने गरेको आरोपलाई शंका गर्ने ठाउँ दिएको छ । प्रहरी कार्यालयबाट पनि राजस्व अनुसन्धान कार्यालयबाट अनुसन्धानका अन्तिम परिणाम नआउने गरेको प्रतिक्रिया आउने गरेको छ ।