स्रोत नखुलेको पाँचलाख नगद सहित एकजना पक्राउ
वीरगन्ज, २८ भदौ । पर्सा प्रहरीले स्रोत नखुलेको पाँच लाख नेपाली रुपैंया सहित हुण्डी कारोबार गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नंबर २ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारी रहेका छन् ।
प्रहरी चौकी ईनर्वाले वीरगञ्ज महानगरपालिका वडा नंबर १६ स्थित शंकराचार्य गेटमा नियमित चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको पाँच लाख रुपैंया बरामद भएपछि उनलाई पक्राउ गरेको जनाएको छ । भारतको रक्सोलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२
नम्बरको डिस्कभर मोटरसाइकलमा सवार अन्सारीलाई रोकेर जाँच गर्दा उनले लगाएको हेल्मेट भित्र श्रोत नखुलेको पाँच लाख रुपैंया बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
नगद रकम र मोटरसाईकल सहित पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।