पर्सा प्रहरीद्वारा साढे ८२ लाख रकम र अवैध कपडाको गाडी सहित पाँच जना पक्राउ
कोरोना कहरमा अवैध कारोबारीको सलबलाहट
वीरगन्ज, २९ बैशाख । पर्सा प्रहरीले बुधबार ८२ लाख ५० हजार सहित चारजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले बीरगञ्ज म.न.पा.वडा नं ३ आदर्शनगर, पानीटंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार सहित चारै जनाले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको सूचना पाएपछि निगरानी गरेको थियो ।
सोही क्रममा बुधबार दिउँसो १ः०० बजेको समयमा बारा जिल्ला महागढीमाई न.पा.वडा नं.४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएर झोला जाँच गर्दा झोलाभित्र नेपाली २५ लाख नगद बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
त्यसपछि उनलाई नियन्त्रणमा लिएर विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । पक्राउ पर्र्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का १८ बर्षका कलामुद्दिन अन्सारी, भारत विहार जि.मोतिहारी रक्सौल वडा नं.१८ का बर्ष २७ का बिकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नं.९ का २२ बर्षीय गुड्डु कुमार, भारत मोतीहारी वडा नम्बर ५ का १८ बर्षीय साहिल गुप्ता रहेका छन् ।
हुण्डी रकम सहित पक्राउ परेका चारैजनालाई अवैध कारोबारा बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत कारवाही गरिने प्रहरी नायव उपरीक्षक खनालले बताए । प्रहरीले उनीहरुले प्रयोग गर्ने ना. ८ प. ४८९७ नम्बरको बजाज कम्पनीको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै बुधबार नै प्रहरीले भन्सार छली ल्याएको अवैध कपडा लोड गरिएको म्याजिक भ्यान सहित एकजनालाई पक्राउ गरेको छ । बीरगञ्ज महानगरपालिका वडा नं.–१४ गण्डक चोकमा ना.१ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी मूल्य एकलाख १३ हजार चारसय बराबरको कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
कपडा लोड गरिएको गाडी चालक बारा जितपुर उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष २१ को जियाउल हक खानलाई समेत नियन्त्रणमा लिएको छ । गाडी सहितको मूल्यांक ६ लाख १३ हजार चारसय मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक खनाले बताए ।