नारायणी यातायात व्यावस्था कार्यालयबाट पक्राउ परेका ११ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा 

नारायणी यातायात व्यावस्था कार्यालयबाट पक्राउ परेका ११ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा 

वीरगन्ज, २२ चैत । सेवाग्राहीलाई दुख दिएको आरोपमा नारायणी यातायात व्यावस्था कार्यालय वीरगन्जबाट पक्राउ परेका ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ । नारायणी यातायात कार्यालयमा सेवाग्राहीलाई दुख दिएर हैरानी गर्ने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोरकुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको परवानीपुरका दरोगा दास, बाराकै प्रसौनी गाउँपालिकाका मुकेश साह र दिपु महतो तत्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निर्मल बुढाथाकीले जानकारी दिनुभयो ।

सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल लिएर भित्र–बाहिर गर्ने, प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा मंगलबार उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।