बसरुद्दीन अन्सारीले केपी ओलीलाई सिमरा एयरपोर्टमा लिन गाडी पठाएपछि बबाल...
वीरगन्ज, २२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सिमरा विमानस्थलमा लिन नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दीन अन्सारीले पठाएको गाडी कार्यकर्ताले फिर्ता गरेका छन् । नेपाल पिछडावर्ग (ओबिसी) महासंघको राष्ट्रिय महाधिवेशन उदघाटन गर्न बुधबर वीरगन्ज आउनुभएका अध्यक्ष ओलीलाई लिन नेता कार्यकर्ताहरु सिमरा विमानस्थलमा पुगेका थिए ।
नेकपा एमालेबाट कारवाहीको सिफारिसमा परेका वसरुद्दीन अन्सारीले अध्यक्ष ओलीलाई लिन आफ्नो निजी सुविधा सम्पन्न गाडी पठाएपछि कार्यकर्ताहरुले विवाद गरेर फिर्ता पठाएका थिए । कार्यकर्ताहरुले कारवाहीमा परेका व्यक्तिको गाडी अध्यक्षलाई लिन पठाएको भनेर सिमरा विमानस्थलमै केहीबेर विवाद गरेका थिए ।
कार्यक्रम तालिका अनुसार प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताको गाडी ओलीलाई लिन विमानस्थलमा पुगेको थियो । वसरुद्दीन अन्सारीले पनि गाडी पठएपछि केहीबेरको विवाद भएको स्रोतले जनाएको छ । विवादपछि अन्सारीले पठाएको गाडी फिर्ता गरेर ओली राजकुमार गुप्ताले लिएर गएको गाडीमा चढ्नुभएको स्रोतको भनाई छ ।
गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै अन्सारी लगायत विभिन्न तहका नेताहरुलाई कारवाहीको सिफारिस गरेको थियो ।
कारवाहीमा परेको व्यक्ति भन्दै उसले पठाएको गाडीमा पार्टीका अध्यक्षलाई चढाउन नहुने भन्दै नेता कार्यकर्ताहरुले विवाद गरेका हुन् । सिमरा विमानस्थलमा विहान साढे १० बजे ओर्लिनु भएका एमाले अध्यक्ष केपी ओली सिमरा स्थित क्लासिक रिसोर्टमा केहीबेरको विश्रामपछि वीरगन्ज आउदै हुनुहुन्छ ।