महानगरको शिक्षा र सामाजिक क्षेत्रमा सुधारको शुरुवात गरेको छु : महानगर प्रमुख सिंह 

महानगरको शिक्षा र सामाजिक क्षेत्रमा सुधारको शुरुवात गरेको छु : महानगर प्रमुख सिंह 

वीरगन्ज, ३० जेठ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बालबालिकाहरुको भविष्यका लागि शिक्षा र समाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताउनु भएको छ ।

वीरगन्ज महानगरपालिकाको सहयोगमा रेस नेपाल, सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले आफूले वीरगन्जको विकासका लागि क्षणिक उपलब्धि भन्दापनि दीर्घकालिन सोचका साथ काम गर्न खोजेको बताउनुभयो ।

विगतका दिनमा सहीलाई सही र गलतलाई गलत भन्न नसकेकै कारणले वीरगन्ज विकासमा पछि परेको बताउदै अहिलेका पुस्ताले सही कुरा गर्न कसैसँग डराउनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । वीरगन्जका संस्थागत विद्यालयहरुमा पनि १० प्रतिशत छात्रवृत्ति अनिवार्य लागू गर्न निर्देशन दिएपछि गौतम माध्यामिक विद्यालयले परीक्षा लिएर व्यवहारमा कार्यान्वयन गरेको बताउदै अन्य विद्यालयहरुलेपनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

वीरगन्ज महानगरले गरेका सुधारको नतिजा हेर्न केही समय लाग्ने भएकोले धैर्य गर्न पनि उहाँले आग्रह गर्नुभयो । समाजमा भएको गलत क्रियाकलापहरुको खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा र सामाजिक क्षेत्रको विकास नै स्थानीय तहको विकासको मानक हुने भएकोले यसको लागि शिक्षा क्षेत्रमा ऐनले व्यावस्था गरे अनुसार हरेक सामुदायिक र संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलापमा पनि जोड दिन निर्देशन गरेको बताउनुभयो ।

बालश्रम, बालमैत्री शासनको विषयमा महानगरपालिकाले लिएको नीतिको बारेमा सहभागी बालबालिकाहरुले गरेको प्रश्नको जवाफ दिदै उहाँले बोलीमा भन्दा पनि व्यवहारमा देखिने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको, बालमैत्री वडा घोषणा गरिएको भएपनि अहिले फेरी उस्तै अवस्था देखिएकोले त्यसलाई दीर्घकालिन रुपमा समाधान गर्न र सडक बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र भविष्यको विषयमा पनि महानगरपालिकाले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्ने बताउनुभयो ।

नगर प्रमुख सिंहले युवाहरुबाट वीरगन्जको विकास र परिवर्तनका सहयोग आवश्यकता रहेको पनि बताउनुभयो । नारायणी एफ.एम.का कार्यक्रम संयोजक शिवनाथ यादवले सहजीकरण गरेको कार्यक्रममा वीरगन्जका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।