वीरगञ्ज महानगरद्वारा ३ सय १८ जनालाई छात्रवृत्ति प्रदान 

वीरगञ्ज महानगरद्वारा ३ सय १८ जनालाई छात्रवृत्ति प्रदान 

वीरगन्ज, २० पुष । गएको कातिक १९ गते महानगरले लिएको कक्षा ९ र ११ का विद्यार्थीलाई छनौट परीक्षाबाट छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थीहरुलाई वीरगञ्ज महानगरपालिकाले बुधबार छात्रवृत्ति सिफारिस पत्र प्रदान गरिएको हो ।

सिफारिस पत्र प्रदान गर्दै महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई अझै मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नु भयो । उहाँले  कसैको सिफारिस र भनसुनमा नभई प्रतिस्पर्धाबाट लिखित परिक्षामा उत्कृष्ट गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो ।

मेहनत र परिश्रमले प्राप्त गरेको नतिजा अनुसार नै महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको बताउदै उहाँले आउँदा दिनमा पनि उत्कृष्ट नतिजा ल्याउनका लागि अध्ययनमा अझै परिश्रम गर्न विद्यार्थीहरुलाई सुझाव समेत दिनुभयो ।

वीरगञ्जका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न निरन्तर अनुगमन र निरीक्षण गरिरहेको भन्दै अभिभावकले पनि विद्यालयमा भइरहेका कमिकमजोरीमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मेहनती र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि महानगरले छात्रवृत्ति उपलब्ध गराएको भन्दै छात्रवृत्तिको सम्मान कायम राखिराख्न अध्ययनमा कमजोरी नगर्न सुझाव दिनुभयो ।

महानगरपालिकाले कक्षा ९ मा ९९ जना र कक्षा ११ मा २१९ जना गरी ३ सय १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गरिएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।  

कक्षा ९ मा १५१ जनाले परीक्षा दिएकोमा ११९ जना उत्तीर्ण भएको र ११ मा १ हजार ४१९ जनाले परीक्षा दिएकोमा १ हजार २५५ जना उत्तीर्ण भएका थिए ।