नागरिकको समस्या र सुझाव संकलन गर्दै गाउँपालिका अध्यक्ष
कृष्णमोहन साह
सेंढवा, ५ पुस । जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गाउँपालिकाको विभिन्न टोल तथा वस्तीहरुमा पुगेर स्थानीयवासीको समस्या बुझ्ने र सुझाव संकलन गर्ने अभियान शुरु गर्नुभएको छ ।
गाउँपालिकाको विकासमा गाउँपालिका वासीको प्रत्यक्ष सहभागिता गराउने उद्देश्यका साथ अध्यक्ष चौधरीले गाउँपालिका वासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाउदै सुझाव संकलनलाई तीब्रता दिनु भएको हो ।
चौधरीले वडा नम्वर –१ को महादेवपट्टी र पकडी टोलामा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नुपर्ने कामका बारेमा सुझाव लिनु भएको थियो ।
पकडी टोलाको दलित बस्तीमा बसोवास गर्ने दलितहरुको सुझाव संकलन गर्नु भएको थियो । गाउँपालिका प्रमुख सहित पुगेको टोलीलाई गाउँ गाउँमा स्थानीयले स्वागत गर्दै टोल टोलमा विग्रिएको बाटो मर्मत, नालाको स्तर उन्नती, खेतमा विद्युतीकरण मलको व्यवस्थापन लगायतको समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए ।
स्थानीयको समस्या सुनेपछि गाउँपालिका प्रमुख चौधरीले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको बताउदै समस्या समाधानका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महादेवपट्टी पकडी टोल हुदै जनताको समस्या बुझ्न गाउँ गाउँमा पुग्नु भएका गापा प्रमुख चौधरीले वडा नम्वर १ पकडी टोलमा पुगेर त्यहाँ निर्माण भइरहेको बिद्यालय अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिनु भएको थियो ।
पकडी टोलका स्थानीयले गाँउँपालिका अध्यक्ष समक्ष ओरिया नदीका कारण वर्षायाममा आफ्नो खेती योग्य जमिन कटानमा पर्ने भएकाले त्यसका लागि सहज निकासको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
जीराभवानी गाउँपालिकाको विभिन्न वडामा चालू रहेका योजनाको अनुगमन गर्नुपर्ने कामहरुको प्राथमिकिकरण र योजना कार्यान्वयनका लागि गापा प्रमुख चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, इन्जिनियर बन्टी चौरसिया, योजना साखा प्रमुख सरोज दास सहितको टोली गाउँ गाउँ मा पुग्ने र जनताको समस्या बुझ्ने गरेका छन् ।