वीरगञ्ज महानगरको सहयोगमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन
वीरगन्ज, २८ माघ । निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभाबमा तयारी गर्न नसकेकाहरुलाई लक्षित गर्दै निःशुल्क तयारी कक्षा सुरु गरिएको । तयारी कक्षाको शनिबार महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको छ ।
युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको महानगरप्रमुख सिंहले बताउनुभयो । निजामति प्रशासन, शिक्षक तथा सुरक्षा क्षेत्रमा यहाँका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै महानगरले युवाका लागि तयारी कक्षा संचालन गरेको पनि उहाँले बताउनु भयो ।
वीरगञ्ज महानगरपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । महानगरले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागिहरुले बताएका छन् । महानगरले निशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिन पर्ने बाध्यता हटेको उनीहरुको भनाई थियो ।
राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै महानगर प्रमुख सिंहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउन भनेर तयारी कक्षा अघि बढाइएको उहांको भनाई थियो । तयारी कक्षामा वीरगञ्जका मात्रै नभई पर्सा बारा लगायत विभिन्न स्थानका युवाहरुको सहभागिता रहेको छ । तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुषको सहभागिता रहेको छ ।
महानगरपालिकाको सहयोगमा यूडीवाईसेफ कम्प्युटर एजुकेसनले तयारी कक्षा अगाडी बढाएको हो । सहभागीहरुलाई धनञ्जय कुमार सिंह, सुरज राम, श्यामबिनय चौधरी, सुरज कुमार यादव र हेमन्त यादवले प्रशिक्षण दिनुहुने छ । शनिबार आयोजित तयारी कक्षा उद्घाटन सत्रमा वडा नम्बर ४ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, कार्यपालिका सदस्य कनिका कौसिक,
महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, सामाजिक विकास शाखा प्रमुख राजिब गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन यू।डी।वाई सेफ कम्प्युटर एजुकेसनका संचालक बंसी गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो ।