महानगरका स्वास्थ्य संस्थामा औषधीको अभाव नहुने गरी व्यावस्था मिलाउन नगर प्रमुख सिंहको निर्देशन 

महानगरका स्वास्थ्य संस्थामा औषधीको अभाव नहुने गरी व्यावस्था मिलाउन नगर प्रमुख सिंहको निर्देशन 

वीरगञ्ज, २७ मंसिर । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगर भित्रका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । महानगरको सामाजिक विकास महाशाखाले आयोजना गरेको जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरु हर समय उपलब्ध हुनुपर्ने र तोकिएका औषधीको कुनै पनि कमी नहुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

स्वास्थ्य चौकीमा आवश्यक औषधी तथा अस्पतालमा प्रयोग हुने सामग्री पठाउँदा सम्बन्धित वडाका वडाध्यक्षहरुसँग जानकारी दिएर मात्रै पठाउन उहाँले स्वास्थ्य शाखालाई निर्देशन दिनुभयो । स्वास्थ्य महाशाखाका प्रमुख रितेस जयसवालले नेपाल सरकारले विभिन्न ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउन भनेको भन्दै त्यसका लागि ४० लाख उपलब्ध गराएको बताउनुभयो ।

४० लाखको औषधिले महानगरका नागरिकलाई वर्षभर तोकिएका ९८ प्रकारका औषधीले नपुग्ने भएकाले थप रकम आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्र सरकारसँग बजेट माग गर्दा प्रदेशमा देखाउने गरेको र प्रदेशले आफूहरुसँग औषधि खरिदको कुनै पनि योजना नरहेको भन्दै पन्छिने गरेको जयसवालले गुनासो गर्नुभयो ।

नगर प्रमुख सिंहले सरोकारवालाहरुसँग एक पटक बैठक बसेर आवश्यक पहल गर्न भन्दै केन्द्रले नदिए महानगर आफैले आफ्ना नागरिकको स्वास्थ्यको जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागि वडा नम्वर २० का वडाध्यक्ष रामकिशोर सिंह ‘पराग’ले आफ्नो वडामा रहेको स्वास्थ्य संस्थामा कहिले औषधी अभाव रहेको, कहिले स्वास्थ्यकर्मी नै नेभेटिने गरेको भन्दै अबदेखि जनप्रतिनिधिलाई सहभागि गराएर मात्रै आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभयो । कार्यक्रममा ३२ वटै वडाका वडाध्यक्ष, सचिव तथा अन्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।