मन्त्री मोदी र इयु राजदूत नोना बीच भेटबार्ता
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र युरोपेली युनियन डेलिगेशनका राजदूत नोना डेप्रेजबीच बिहिबार भेटवार्ता भएको छ । मन्त्री मोदीसँग शिष्टाचार भेट गर्न राजदूत डेप्रेज सिंहदरवारस्थित मन्त्रालयमा पुग्नुभएको थियो ।
आफ्नो मन्त्रालयमा स्वागत गर्दै मन्त्री मोदीले युरोपेली युनियनले नेपाललाई गर्दै आएको सहयोग र सहकार्यको सराहना गर्दै आगामी दिनमा अझ सहयोग बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।
नेपालले संविधान जारी गर्दा, महाभूकम्प वा कोरोनाको कहरमा भोग्नुपरेका संकटपूर्ण क्षेणहरुमा युरोपेली युनियनले निक्कै ठूलो सहयोग गरेको उल्लेख गर्दै मन्त्री मोदीले नेपालमा संघीयताको कार्यान्वयन र निजामती कर्मचारीको क्षमता बृद्धिमा यीयूले सहयोग बढाउने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले संसदको जारी अधिवेशनमा संघीय निजामती ऐन ल्याउनका लागि आफ्नै नेतृत्वमा तिब्र ढंगले गृहकार्य गरिरहेको उल्लेख गर्दै मन्त्री मोदीले भन्नेुभया, ‘नेपालको सामाजिक आर्थिक रुपान्तरण, कोरोना पछिको पुनरुत्थानको प्रयासमा नेपाल सरकार द्धिपक्षीय र बहुपक्षीय विकास साझोदारका साथै युरोपेली युनियनको निरन्तर सहयोगको अपेक्षा गर्दछ ।
नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा सन् २०२६ सम्ममा स्तरोन्नती हुन प्रयासरत रहेको छ । यस ऐतिहासिक प्रयासलार्य हासिल गर्नका लागि नेपाल सरकारलाई विभिन्न विकास साझोदारहरु साथै युरोपेली युनियनबाट प्राविधिक र आर्थिक सहयोग लगायतको साझेदारीको आवश्यकता रहेको छ ।’
मन्त्री मोदीले आफ्नो मन्त्रालयले स्थानीय आर्थिक विकासलाई प्राथामिकता दिएको बताउँदै नेपाल सरकारको मानव संसाधनको उपयोगिता र व्यवस्थापन गर्नका लागि आवश्यक योजना र तयारी गरिरहेको बताउनुभयो । जवाफमा युरोपेली युनियनकी राजदूत डेप्रेजले आगामी दिनमा नेपाल र युरोपेली युनियनबीचको सम्बन्ध अझ घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।
युनियनले नेपालमा संविधान निर्माण लगायतका महत्वपूर्ण अवस्थामा सहयोग गर्दै आएको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि पनि सहयोग गर्न तयार रहेको बताईन् । संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन आउनु अत्यावश्यक रहेको कुरामा विकास साझेदार सवै निकाय एक रहेको जानकारी गराउँदै उनले सरकारले गरेको तयारीको सराहना गर्नुभयो ।
नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नती गराउनसमेत युरोपेली युनियन सहयोग गर्न तयार रहेको बताउँदै उनले निजामती कर्मचारीको क्षमता अभिबृद्धिका लागि सामान्य प्रशासन मन्त्रालयलाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
भेटका क्रममा मन्त्री मोदीले मन्त्रालयले विकास साझेदार विभिन्न निकायहरुका बीचमा संयुक्त छलफल गरेर सहयोग र सहकार्यलाई अझ प्रभावकारी बनाउने तयारी भईरहेको जानकारीसमेत दिएको उनको सचिवालयले जानकारी दिएको छ ।