म्हानगर प्रमुख सिंहको सामुदायिक विद्यालयमा छड्के अनुगमन, ढिला आउने शिक्षकलाई कारबाही गर्न निर्देशन

म्हानगर प्रमुख सिंहको सामुदायिक विद्यालयमा छड्के अनुगमन, ढिला आउने शिक्षकलाई कारबाही गर्न निर्देशन

वीरगञ्ज, ११ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सामुदायिक विद्यालयमा शिक्षक समयमा नआए कारवाही गर्न निर्देशन दिनुभएको छ । वीरगञ्ज महानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न महानगर प्रमुख आफै अनुगमनमा निस्किनुभएको छ ।

अनुगमनका क्रममा विद्यालयमा ढिला आउने शिक्षकहरुलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन र विश्वसनीय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै सिंहले विद्यालयको कक्षाकोठामै पुगेर विद्यार्थीसँग पढाईका बारेमा समेत जानकारी लिनुभएको छ ।

मंगलवार नगर प्रमुख सिंहले घण्टाघर नजिकै रहेको नेपाल रेल्वे मा.वि.मा अनुगमन गर्नुभएको छ । मध्यान्ह १२ विद्यालय पुग्नु भएका सिंह त्यहाँ एकघण्टासम्म विद्यालयको गतिविधिको बारेमा जानकारी लिनुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ । कक्षा ९ मा पुगेर नगरप्रमुख सिंहले पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा विद्यार्थीहरुसँग सोध्नुभएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीसँग उनीहरुको सबैभन्दा मन पर्ने विषयका सामान्य जिज्ञासा राखेका थिए । सो क्रममा अधिकांश विद्यार्थीहरुले विषय शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको, परीक्षा शुल्क लिने गरेको जस्ता गुनासा राखेका थिए । यस्तै कतिपय शिक्षक समयभन्दा ढिला आएर समय सकिनु भन्दा अघि नै निस्केर जाने गरेकाले पढाईमा पनि असर परेको विद्यार्थीहरुले बताएका छन् ।

अझैसम्म पनि पाठ्यपुस्तक नपाएको एक विद्यार्थीले गुनासो गरे थिए । आफूले पटक पटक शिक्षकसँग पुस्तक नभएको बताए पनि पुस्तक उपलब्ध गराउन आनाकानी गरेको भन्दै समस्या राखेपछि तत्काल पुस्तक उपलब्ध गराउन मेयर सिंहले प्रधानाध्यापकलाई निर्देशन दिनुभयो । त्यस्तै छात्राहरुले अझैसम्म पनि विद्यालयमा प्याड उपलब्ध नभएको भन्दै छिटो व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

जवाफमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले अबको २/३ दिनभित्रै हरेक विद्यालयमा प्याड उपलब्ध हुने गरी व्यवस्था मिलाइएको बताउनुभयो । नगरप्रमुख सिंह, प्रमुख प्रशासकीय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टर पनि चेकजाँच गरे ।

शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न र समयमा कक्षाकोठामा नपुग्ने शिक्षकलाई कारवाही गर्न मेयर सिंहले निर्देशन दिए । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिनुभएको छ ।

मेयर सिंहले विद्यालयको भवन निर्माण कार्य अधुरै रहेको र प्राङण पनि मर्मत गर्नु पर्ने देखिएकाले त्यसको निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर महानगरमा पेश गर्न प्रधानाध्यापकलाई आग्रह गर्नुभयो । अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक मुनिलाल कर्णले उपलब्ध साधन स्रोतमै विद्यालयको शैक्षिक गुणस्तर टिकाइरहन काम गरिरहेको बताउनुभयो ।