भारत तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
वीरगञ्ज, ११ पुस । रौतहटबाट भारततर्फ तस्करी गर्दै लगेको १२० कार्टुन सोफी मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले आईतबार राति रौतहटको सीमावर्ती क्षेत्रबाट १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।
रौतहटको राजदेवी नगरपालिका–९ ब्रम्हपुरी स्थित बोर्डर आउटपोष्ट बेलविछवाका सशस्त्र प्रहरीको टोलीले मदिरा बरामद गरेको सशस्त्र प्रहरी नम्बर २ बाहिनी छिन्नमस्ता बर्दिवास महोत्तरीको बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादर ठाडा मगरले जानकारी दिनुभयो ।
चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २९ एस ९४०४ नम्बरको बोलेरो गाडीमा राखिएको ११८ कार्टुन सोफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक ठाडामगरले बताउनुभयो ।
बोलेरोको मूल्य ५ लाख कायम गरी बरामद गरिएको ६ लाख २० हजार मूल्य बराबरको सामाग्री गौर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतको बिहार राज्यमा मदिरा उत्पादन, बिक्रि र सेवन निषेध गरिएकोले सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलमा भारतीय नागरिक आएर मदिरा पिउने गरेका छन् भने अवैध रुपमा नेपालबाट भारत तर्फ मदिरा लैजाने पनि गर्छन ।