तीनजना भारतीय महिला प्रहरी नियन्त्रणमा
वीरगन्ज, २२ भदौ । वडा प्रहरी कार्यालय वीर्ताले तीनजना अधवैशे महिलाहरुलाई नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा बच्चा चोर्ने प्रयास गर्न खोजेको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । तीनै जना भारतीय नागरिक उनीहरु जडिबुटी, पतंजली तथा आयुर्वेदिक औषधि, पत्थर लगायतको समान बेच्न नेपाल आएको प्रारम्भिक अनुसन्धानमा देखिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विशाल मल्लले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीयले बच्चा चोर्न आएको आशंकामा नियन्त्रणमा लिएर हामीलाई खबर गरेको थियो । लगत्तै गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लियौं । बच्चा नै चोर्न आएको भन्ने कुनै यथेष्ट प्रमाण भेटिएको छैन ।” स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि अनुसन्धानको लागि वडा प्रहरी कार्यालय वीर्तामा ल्याएर राखेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । पछिल्लो केही देखि सामाजिक सञ्जालमा भारतबाट बालबालिका चोर्ने गिरोह नेपाल छिरेको भन्ने हल्ला फैलाईएको छ । त्यसैले स्थानीयले पनि तीनजना अपरिचित महिला स्थानीय टोलमा देखेपछि शशंकित भएर प्रहरीलाई खबर गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।