मधेस प्रदेशमा आपराधिक श्रृङखला बढ्दै

दुईदिनमा दुईजनाको हत्या, दुईकिलो युरेनियम सहित तीनजना पक्राउ

मधेस प्रदेशमा आपराधिक श्रृङखला बढ्दै

वीरगन्ज, १० पुस । देशमा आम निर्वाचन सम्पनन भएर सरकार गठनको प्रकृया शुरु भईरहँदा मधेश प्रदेशमा भने अपराध बढ्दै गएको छ । निर्वाचन अवैध मुदा र साना हतियारको बिगबिगी बढेको थियो भने । अहिले गोली प्रहारका घटना र रासायनिक पदार्थहरुको ओसार पसार बढ्न थालेको छ ।  दुईदिनमा धनुषा र बारामा दुईजनाको हत्या भएको छ । अज्ञात व्यक्तिले गोली प्रहार गरी दुईजनाको गरेका हुन् ।

शुक्रबार साँझ साढे ५ बजे बाराको गाढीमाई नगरपालिकामा भारतीय नागरिकको गोली प्रहार गरी हत्या भएको घटना सेलाउन नपाउदै फेरी धनुषामा अर्को एकजनाको गोली प्रहार गरि हत्या गरिएको छ । शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको गोली प्रहार गरी हत्या भएको छ । प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् ।

बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री रहेका दास काम सकेर घरमा आई परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताउनुभयो ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो । यसअघि शुक्रबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको थियो । कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका व्यवसायी यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । शनिबार नै सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो करिब २ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं. १२ गण हेडक्वाटर बारा मातहत सुरक्षा वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले युरेनियमसहित तीनजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका बर्दिबास महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर स्थित आदित्य होटलको कोठा नं. ४ बाट जितपुरसिमरा ५ बस्ने २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको  माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षीय बृज सहनीलाई २ केजी युरेनियम सहित पक्राउ गरिएको डिआईजी ठाडा मगरले बताउनुभयो ।