बाराबाट ३ लाख नक्कली नेपाली रुपैंया सहित एक पक्राउ 

बाराबाट ३ लाख नक्कली नेपाली रुपैंया सहित एक पक्राउ 

वीरगन्ज, २० फागुन । सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीले नक्कली नेपाली रुपैंया सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ दिगम्बरपुर बस्ने १९ बर्षका विरेन्द्र महतो रहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अम्मरपुर इलाकाबाट लु ७८ प २३९७ नम्बरको मोटरसाईकलमा नक्कली रुपैंया लिएर नहरको बाटो आईरहेको सूचनाको आधारमा हिजो साँझ उनलाई रोकेर चेकजाँच गर्दा नक्कली नेपाली रुपैंया फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी छिन्नमस्ता बर्दिवास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नम्बर २ बाहिनीको स्क्वाड टोलीले पछ्याउदै आएको र सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट गोलागञ्जको टोलीले चेकजाँच गर्दा उनको साथबाट ३०१ थान नक्कली नेपाली रुर्पैया र सक्कली एकहजार रुपैंया फेला परेको प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो ।

नक्कली रकम र मोटरसाईकल सहित पक्राउ परेका महतोलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट गोलागञ्जमा ल्याएर आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको डिआईजी ठाडा मगरले बताउनुभयो ।