बाराका प्रहरी उपरीक्षक बोगटीको एक्सन: आफ्नै आमाको हत्या आरोपी र नक्कली नोट सहित एक पक्राउ 

बाराका प्रहरी उपरीक्षक बोगटीको एक्सन: आफ्नै आमाको हत्या आरोपी र नक्कली नोट सहित एक पक्राउ 

वीरगन्ज, ८ असोज । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको एक्सनले निरन्तरता पाएको छ । प्रहरी संगठनमा रणनीतिक कौशल प्रदर्शन गर्ने प्रहरी अधिकृतको रुपमा परिचित प्रहरी उपरीक्षक बोगटीको एक्सनले बारामा आफ्नै सौतेनी आमाको हत्या गरेर फरार रहेका एकजना र नक्कली नोट सहित एकजनालाई पक्राउ गर्न बारा प्रहरी सफल भएको छ ।

आफ्नो सौतेनी आमा तेतरी देवीको धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका बारको कलैया उपमहानगरपालिका वडा नं.–७ रंगपुर टोल बस्ने वर्ष २५ का जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ । जयकिशोरले २०७९ साल भदौ ३० गते घरमा बसी रहेको बेला सामान्य घरायसी विवाद हुँदा घाँटीको अगाडी भागबाट खुकुरी प्रहार गर्दा तेतरी देवीको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्यामा संलग्न जयकिशोर यादव फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको खोजतलास टोलीले जयकिशोरलाई पर्साको ईनर्वाबाट पक्राउ गरी ततरीदेवीको श्रीमान शिवनारायण यादव समेतलाई नियन्त्रण लिई बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप  अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।

घटना अनुसन्धानमा तेतरी देवीको करिव ३० वर्ष अगाडी शिवनारायण यादवसँग विवाह भएको र उनको कोखबाट कुनै सन्तानको जन्म नभएपछि तेतरी देवीले नागरिकता बनाउनको लागि पटक–पटक आग्रह गर्दा समेत शिव नारायण यादवले कान्छी श्रीमती तथा छोरा जय किशोर यादवको दबाबमा नागरिकता बनाउन आलटाल गर्दै आएपछि विवाद भएको थियो । नागरिकता बनाईदिए तेतरी देवीलाई अंश दिनुपर्ने भएपछि तेतरी देवीको उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ ।

यसैबीच बारा प्रहरीले  ८२ हजार ५०० सय नक्कली नेपाली नोट सहित १ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं.५ कनकपुर टोल स्थित जगदेव महतो नुनियाको घरमा खानतलासी गर्ने क्रममा उनको घरबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

जगदेव महतो नुनिया सुत्ने कोठामा रहेको बाँसको मचानमाथी रहेको ओच्छायानको मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट एकहजार दरको ८१ थान र ५०० दरको नोट ३ थान गरी जम्मा ८२ हजार पाँचसय नक्कली नोट बरामद गरेको हो ।  बरादमा नोट सहित जगदेव महतो नुनियालाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।