वीरगन्ज महानगरद्वारा कोरोना संक्रमितलाई आवश्यक अक्सिजनको निःशुल्क व्यावस्था
वीरगन्ज, १४ बैशाख । वीरगंज महानगरपालिकामा निशुल्क अक्सिजन बैक स्थापना गरिएको छ । कोभिड संक्रमणको कारण अप्ठारोमा परेका नागरिकको जीवन रक्षाका लागि वीरगंज महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा वीरगंजमा मंगलबारदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको हो । वीरगंज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा वसोवास गर्ने कोरोना संक्रमित नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।
कोभिड संक्रमित भई होम आइसोलेशनमा उपचार गराई रहेका नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने औषधि, अक्सिजन र त्यसमा लाग्ने किट समेत निःशुल्क वीरगंज महानगरपालिका कार्यालयमा स्थापना गरिएको अक्सिजन बैकबाट वितरण गरिने व्यावस्था मिलाईएको लायन्स क्लव अफ इन्टरनेशनलका पूर्व निर्देशक संजय खेतानले बताउनुभयो । होम आइसोलेशन वाहेक वीरगंजका अस्पतालमा समेत उपचारार्थ भर्ना भएका कोभिड विरामीहरुको लागि समेत अस्पतालमा सहज रुपमा अक्सिजन व्यवस्था नभएमा महानगरपालिका रहेको अक्सिजन बैकबाट निःशुल्क रुपमा अक्सिजनको सिलिन्डर सहित त्यसमा लाग्ने किट उपलब्ध गराईने नगर प्रमुख सरावगीले बताउनुभयो ।
अक्सिजन प्रयोग पछि पुनः वीरगंज महानगरपालिकाको अक्सिजन बैकमा खाली सिलिण्डर फिर्ता गर्नुपर्ने शर्त राखेर कोभिड विरामीका लागि अक्सिजन वितरण गरिने लायन्स क्लवका पूर्व काउन्सिलर चेयरमेन रमेश अग्रवालले जानकारी दिनुभयो । होम आइसोलेशनमा उपचार गराई रहेका विरामीहरुको स्वास्थ्य अवस्था जानकारी लिन हरेक वडा कार्यालय मार्फत प्यारामेडिकल सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको नगर प्रमुख विजय कुमार सरावगीको भनाई छ । वीरगन्जकै नेशनल अक्सिजन इन्डस्ट्रिजले तीन दिन अघि महानगरपालिकाको कार्यालयलाई सुलभ मूल्य अक्सिजनको रकम लिएर १ सय ५० सिलिण्डर अक्सिजन उपलब्ध गराएको थियो ।
वीरगन्ज महानरपालिका कार्यालयले ३ हजार थान एन्टिजेन किट खरिद गर्ने प्रक्रिया समेत सुरु गरिसकेको महानगरपालिकाका इन्जिनियर सुनिल कुमार कर्णले बताउनुभयो । यसबाहेक महानगरपालिका कार्यालयले हालै २ थान एम्बुलेन्स र १ थान शववाहन समेत खरिद गरेको जानकारी उहाले दिनुभयो । एम्बुलेन्स आवश्यक स्थानमा राख्ने र शववाहन नेपाली सेनालाई जिम्मा लगाइएको छ । वीरगन्जका अस्पतालका लागि १५ थान भेन्टिलेटर खरिदको प्रक्रिया पनि महानगरले अघि बढाएको कर्णले जानकारी दिनुभयो । वीरगन्जका होटल र धर्मशालाहरूमा आइसोलेसन सञ्चालन गर्न गृहकार्य पनि भइरहेको बताउनुभयो ।