राप्रपाका उम्मेदवार डंगोलको घरदैलो रफ्तारमा
वीरगन्ज, १८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किरण डंगोलले मतदाताहरुको घरदैलो अभियानको रफ्तार बढाएको छ ।
हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको नारा लिएर चुनावी अभियानमा होमिएको राप्रपाका उम्मेदवार डंगोल आफूलाई मतदाताहरुको अपार माया र स्नेह पाएको बताउनुभयो ।
उहाँले ठूला राजनीतिक दलहरुले जनताको जनजीविकामा कुनै परिवर्तन ल्याउन नसकेको र भ्रष्टाचारको अखडा मात्रै बनाएको बताउदै राप्रपाले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्ने अभियान नै चलाएकोले भ्रष्टाचार शुन्य शासन र समाजको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको मतदाताहरुलाई बताउनुभयो ।
नेपाल हिन्दु राष्ट्र भएपनि राजनीतिक दलहरुले ८० प्रतिशत भन्दा बढी हिन्दु रहेको नेपाली जनताको भावनामा खेलवाड गरेको बताउनुभयो ।
उहाँले राप्रपा मात्रै हिन्दु राष्ट्र र राजसंस्थाको समेत सहभागिताको वकालत गर्दै आएकोले आगामी चुनावमा राप्रपालाई जिताउनुपर्ने बताउनुभयो । डंगोलले शुक्रबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १८ मा घरदैलो कार्यक्रम गरेको थियो ।