समाजवादी मोर्चाका नेताहरुको एउटै स्वर : ‘संविधान, संघीयता र समृद्धिका लागि मोर्चा गठन भएको हो’
वीरगन्ज, ९ भदौ । समाजवादी मोर्चाका शीर्ष नेतृत्वले वीरगन्ज एउटै स्वरमा भनेका छन्, ‘प्रतिगमनलाई परास्त गरी संघीयता संस्थागत गर्न समाजवादी मोर्चाको आवश्यकता भएको हो ।’ मोर्चा गठन भएको लामो समयपछि सक्रिय भएको मोर्चा सात वटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय अनुसार शुक्रबार वीरगन्जबाट सन्देश सभाको सुरुवात गरेको हो । वीरगन्जको नगरसभा गृहमा आयोजना गरिएको सन्देश सभामा शीर्ष नेताहरुले जोशिलो भाषण गर्दै क्रान्तिको जगबाट आएका पार्टीहरु एकठाउँमा नआएसम्म देशको विकास र समृद्धि सम्भव नरहेकोले नै मोर्चाको आवश्यकता औंल्याएका थिए । मोर्चामा आवद्ध तीनवटा पार्टी सरकारमा रहेको र एउटा पार्टी सरकार बाहिरबाट सामाजिक अभियानलाई अगाडि बढाई रहेको भन्दै मोर्चाले सडक, सदन र सरकारबाट प्रतिगमन विरुद्ध हमला गर्ने बताए ।
कसले के भने ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, नेकपा माओवादी केन्द्र
प्रधानमन्त्री पु्ष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दावी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले नागरिकता विधेयक, मिटरब्याज पीडितको आयोग नै गठन गरेर सम्बोधन गरेको, भारतसँग १० हजार मेगावाटको विद्युत व्यापार सम्झौता, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, ललिता निवास प्रकरण, सीमानाका लगायत विभिन्न जनसरोकारका विषयमा उल्लेखनीय काम भएको जिकिर गर्नुभयो । उहाँले जति राम्रो काम गर्दा पनि आफूले जस नपाउने गरेको समेत गुनासो गर्दै समृद्धिका निम्ति केही ठोस काम सुरू गरिए पनि सरकारले गरेका कामकाबारे भन्न मानिसहरू डराउने गरेको गुनासो पोख्नुभयो । उहाँले भने, माओवादीको अथवा प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो कि ! भन्दै प्रश्न समेत गर्नुभयो । गठबन्धनको सरकारले राम्रो कामको थालनी गरेकाले एकथरी मानिस आतंकित भएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले आफू गम्भीर भएर नै तस्करीको ६० किलो सुन बरामद गर्न सफल भएको भन्दै जनताको पक्षमा राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि जनताकै मुद्दामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो जीवनको उत्तराद्र्धमा केही राम्रा कामहरु गरेर जाने र नेपाली जनताले सम्झिने गरि ऐतिहासिक काम गरेर मर्ने सपना रहेको बताउनु भएको छ । उहाँले राजा महाराजा देखी थुप्रिएको फोहोर एकै पटक हटाउन नसकिने र अब समाजवादी मोर्चाको माध्यमबाट मिलेर अगाडी बढे मात्र नेपालको विकासलाई गति दिन सकिने बताउनुभयो। दाहाल नेतृत्वको सरकार सिध्याउन अनेकन चलखेल सुरु भएको अहिले सुन पक्राउ बापत आफुनै दण्डित हुने अवस्था सृजना भएको उहाँको भनाई थियो । मधेस प्रदेश र कर्णाली प्रदेशमा विकाश गरिए मात्र नेपाल विकसित हुने बताउनुभयो । उहाँले सुदूर पश्चिम र मधेसको विकासमा आफ्नो विशेष ध्यान रहेको पनि उल्लेख गर्नुभयो । संघीयता संस्थागत गर्नका लागि आवश्यक कानूनी संरचना निर्माणलाई पनि प्राथामिकता दिएको बताउदै संघीय प्रहरी ऐन, शिक्षा ऐन र निजामति ऐन अब क्रमशः पारित गरेर कार्यान्वयनमा ल्याईने पनि प्रधामन्त्री दाहालले बताउनुभयो ।
माधव कुमार नेपाल
अध्यक्ष, नेकपा एकीकृत समाजवादी
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाको मुख्य उद्देश्य संविधानको रक्षा गर्नु रहेको बताउनु भएको छ । प्रतिगमनकारीले गर्दा संविधानमाथि चुनौति आएको र संविधानको अपव्याख्या गर्ने कोशिश गरेर संसद भंग गरेकोले मोर्चाको आवश्यकता परेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई दुईपटक संसद विघटन गरेका प्रगिमनकारी विरुद्ध सडक संघर्ष गरेर संसद पुर्नस्थापना ग¥यौं । त्यसका विरुद्ध लड्यौं । न्यायलयको आदेशले संसद पुर्नस्थापना भयो । अहिले पनि खतरा टरेको छैन । अहिले पनि दुस्प्रयास गरिरहेको छ । त्यसैले होसियार । त्यहि होसियारीका लागि समाजवादी मोर्चाको गठन भएको हो ।” संविधानमा, संघीयतामा केही कमजोरी हुनसक्ने भएपनि सबै कुरा पूर्ण नहुने भन्दै त्यसको उद्देश्य प्रष्ट हुनुपर्ने बताउनुभयो । उहाँले ‘मन चंगा त कठौतीमा गंगा’ भन्ने उखान गर्दै प्रष्ट विचार र उद्देश्यका साथ अगाडि बढेको मोर्चालाई सशक्त बनाएर जाने बताउनुभयो । देशमा अनेक विविधता र अनेक जाति जनजातिको बसोवास रहेको साथै बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधता भएकोले त्यहि विविधतामा एकता नेपालको विशेषता रहेको साथै समानता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादको पहिलो उद्देश्य नै समानता, दोश्रो स्वतन्त्रता र तेश्रो उद्देश्य भनेको समृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पीडा र वेदनाको नाम समाजवाद होईन । देशमा अनेक समस्याहरु छन् । सबैको आआफने विशेषता र क्षमताको प्रयोग गरेर देशलाई अगाडि बढाउनुपर्छ । यसको समाधान चारवटा बाहेक कुनै पार्टीले गर्न सक्दैन । सामाजिक अभियान, जनजागरण अभियान नयाँशैलीबाट अगाडि बढाएको छ । सरकारमा रहेका तीन दलले सरकार र सदनबाट पनि समाजवादी लक्ष्य पूरा गर्ने जनभावना अनुसार काम गर्नुपर्छ ।”
उपेन्द्र यादव
अध्यक्ष, जनता समाजवादी पार्टी, नेपाल
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता संस्थागत र बलियो नबन्नुमा संविधान अपूरो रहेको बताउनु भएको छ । उहाँले संविधान बनेको ८ बर्ष भईसक्दा समेत संघीयताको मुख्य आधारभूत कानूनहरु बन्न नसक्दा संघीयता संस्थागत हुन चुनौती भएको बताउनु भएको छ । देशमा गणातन्त्र घोषणा भएको १५ वर्ष भए पनि त्यसलाई संस्थागत गर्न नसकिएको बताएका छन्। उहाले पटक–पटकको आन्दोलनबाट जनताले पाएको उपलब्धि संघीयताविरोधी शक्तिहरूले समाप्त पार्ने षड््यन्त्रमा लागेको आरोप लगाउनुभयो । मधेस आन्दोलनबाट जनताले पाएको हकअधिकार खोस्ने काम भए सह्य नहुने भन्दै यादवले संविधान लागू भएको आठ वर्षमा संघीयतालाई कार्यान्वयन गर्नका लागि आठवटा कानुन पनि बन्न नसकेको टिप्पणी गर्नुभयो । एउटा झण्डा र एउटा गाडीले मात्रै संघीयता बलियो नहुने भन्दै प्र देशमा सरकार भए पनि शासन र प्रशासन चलाउने कुनै अधिकार नभएको बताउनुभयो । परिवर्तनको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मोर्चा बनाएको हो । हाम्रो सरकार छ । हाम्रो प्रधानमनत्री छ यो अगाडि बढनुपर्छ र बढ्छ । अहिलेको सरकारले पनि गरेन भने कुनै सरकारले गर्न सक्दैन । राजनीतिक लोकतन्त्र प्राप्त गयौं तर, सामाजिक लोकतन्त्र र सामाजिक न्याय प्राप्ती गर्न अझै सकिएको छैन । आजपनि मधेसी, आदिवासी, थारु, मुस्लीम समुदाय, अल्पसंख्यक, सीमान्तकृत विभेदबाट मुक्त हुन सकेको छैन । जातीय आधारमा गरिने राजनीतिक शोषणबाट मुक्त समानता, स्वतन्त्रतामा आधारित समाजको निर्माण नै समाजवादको दिशाको पहिलो कदम हो । यो दिशामा अगाडि बढाउन समाजवादी मोर्चाको गठन गरिएको हो ।
नेत्रविक्रम चन्द ‘विप्लप सी’
महासचिव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले हरेक संगठन र संस्थाहरु जनताको चाहना र देशको आवश्यकतामा निर्माण हुने भएकोले अहिलेको देशको आवश्यकता र परिस्थिति अुनसार नै समाजवादी मोर्चा निर्माण भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘देशमा विकृति रास छन् । भष्टाचारको फोहोर डंगुर छन् । मिटरब्याज, लघुवित्त, चर्को ब्याजले जनता मरिरहेका छन् । सुकुम्वासीहरुको वासस्थानमा डोजर चलिरहेको छ । भूमण्डलीकृत साम्राज्यवादी शक्तिहरुले देशमा आँखा गाडिरहेका छन् । आधारभूत आवश्यकता सुनिश्चित गर्न सकिरहेको छैन ।’ एक्काईसौं शताब्दीमा देशको अस्तित्व नियन्त्रणमा लिन साम्राज्यवादी तत्वहरुले खोजी रहेको भन्दै नेपालमा ठूलो संघर्षबाट हरेक नेपाली जनताले लडेर ल्याएको परिवर्तन, स्वधिनता र स्वतन्त्रताकोबीचबाट यो समाजवादी मोर्चा गठन भएको बताउनुभयो । यो नविन प्रयोग र सुरुवात भएको पनि उहाँले बताउनुभयो । कुनै बेला कम्युनिष्ट र कांग्रेस मिलेर संघर्ष गरेको चर्चा गर्दै जनताको चाहनालाई परिवर्तन गर्ने नेतृत्व गर्न आवश्यक रहेको बताउनुभयो । उत्पीडित जातिहरुले अधिकार पाउन सकिरहेकाले ज्वलन्त परिस्थितिको नेतृत्व गर्दै त्यसलाई स्माधान गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको हो । उहाँले भन्नुभयो, “जनताले आफ्नो जात खोज्दा मर्नु परिरहेको छ । धमिलो परिस्थिति राजनीतिक संकट, आर्थिक संकट, जनताको प्रगतिशील संस्कृतिमाथि हमला भईरहेको छ । यो अस्थिरताबाट फाईदा उठाउन विभिन्न तत्वहरु लागि परिरहेका छन् । यो स्थितिमा हामी लड्दैछौ त्यसकै लागि मोर्चा गठन भएको छ । एकथरीले पूरानै २०४७ तिर अर्थात पश्चगमनतर्फ फर्काउन लागि रहेका छन् । अर्कोथरीले भने व्यावस्था यहि ठिक छ । यति भए पुग्छ जनताले यसलाई नै साथ दिनुपर्छ नेताहरु मात्रै खराब हुन् पूराना पार्टीहरु खराब हुन् हामी नयाँ आए ठिक गर्छौ भन्ने भ्रम फैलाईरहेको छ ।” २०४७ तिर फर्केर जनताको अग्रगामी चाहना पूरा हुन्छ भन्ने एकथरीलाई लागि रहेको र त्यसरी नै जनतामा भ्रम सृजना गरिरहेको भन्दै दलालपूँजीवाद हावी भएको जिकिर गर्नुभयो । नेपाली जनताको आजसम्म पूरा नभएको चाहाना पूरा गर्नलाई नै समाजवादी मोर्चा गठन गर्नुपरेको स्पष्ट पार्नुभयो । सम्पूर्ण उत्पीडित जाति, वर्ग क्षेत्र, लिंगसबै एकतावद्ध भएर अधिकार सुनिश्चित हुने समाजवादी व्यावस्था नै नेपाली जनताको चाहाना त्यो चाहानाको प्रतिनिधित्व गर्ने शक्ति आवश्यकता छ भन्ने महशुस गरेपछि त्यसलाई रुपान्तारण गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको उहाँको भनाई थियो । उहाँले थप्नुभयो, “नेपाली विशेषताको समाजवाद लक्ष्य छ । नेपाली जनताको चाहाना अनुसार समाजवाद र नेपाली स्वधिनता सुनिश्चित गर्ने समाजवाद आवश्यक छ । मोर्चालाई फोड्नका लागि भ्रमहरु सृजना गरेर मोर्चामा असमझदारी बढाउनका लागि नेताहरुको विषयलाई प्रयोग गरेर मोर्चालाई असफल बनाउने देशभित्र र बाहिरबाट प्रत्यनहरु भईरहेको छ ।”