उपराष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त
वीरगन्ज, ८ माघ । उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ ले तामाङ समुदायको नयाँबर्ष तथा सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनको निजी सचिवालयद्वारा जारी गरेको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलूक हो ।
हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु हाम्रो गौरव हुन् । चाड पर्वहरुले हाम्रो सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको जनाएको छ ।
काठमाडौं उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको पहिचान रहेको र तामाङ सेलो गीत, टुङना र डम्फुको संगीत आज नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको भन्दै भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको पनि उल्लेख छ ।
मान्यजनबाट टिका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिइने सोनाम ल्होच्छारले सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।