प्रधानाध्यापक सरुवाको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन, अवस्था तनावग्रस्त 

प्रधानाध्यापक सरुवाको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन, अवस्था तनावग्रस्त 

बारा । बाराको सुवर्ण गाउँपालिकाका प्रधानाध्यापकको सरुवा गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् । सुवर्ण गाउँपालिका वडा नम्बर–४ स्थित श्री नेपाल राष्ट्रिय मावि हर्दियाका प्रधानाध्यापकको सरुवा गरेको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलनले विद्यालय क्षेत्र तनाव ग्रस्त बनेको छ । प्रधानाध्यापक सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले लाठ्ठी लिएर प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुको आक्रोपूर्ण आन्दोलनले संभावित घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय बाराको टोली प्रदर्शन स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा विद्यार्थीहरुको भीड नियन्त्रणका लागि अहिले विद्यालयमा पुगेको उहाँले बताउनुभयो ।

यसैबीच स्थानीय तहले मनमौजी शिक्षक सरुवा गर्ने र शिक्षकहरुले पनि राजनीतिक संरक्षणमा आन्दोलन गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको शिक्षामा अराजकता बढेको छ । पर्सा जिल्लामा पनि शिक्षक महासंघ आन्दोलनमा रहेका छन् । उनीहरुले आज महानगरपालिकाको मूल गेटमा दिउँसो १ बजे धर्ना कार्यक्रम गर्ने कार्यक्रम तय गरेको छ ।